रैथाने बाली “लट्टे” खेती प्रविधि

रामदत्त मिश्र, काठमाडाैँ –  लट्टे नेपालको तराई देखि पहाडको ३५०० मिटरको उचाई सम्म खेती गर्न सकिने वाली हो। नेपालमा विभिन्न ठाउँ अनुसार यसलाई लट्टे, लुड़े, बेथे, मार्से भन्ने गरिन्छ। बीउ तथा साग उत्पादनको दृष्टिकोणबाट यो एक वर्षे, ठाडो र अग्लो बोट (२.५ मिटर सम्म) प्रकृति भएको बाली हो । यो बाली मुख्य रूपमा दक्षिण तथा मध्य अमेरिकामा फैलिएको पाइएतापनि यसका करिब ४०० जातहरू विश्वभरिका उष्ण तथा उपोष्ण हावापानीमा फैलिएका पाइन्छन्। यो बालीलाई अन्न तथा साग दुबै रूपमा प्रयोग गर्न सकिन्छ । विशेषगरी तिन थरीका प्रजातीहरू दाना र सागको लागि प्रचलित रहेका छन् । Amaranthus hypochondriacus र Amaranthus cruentus दाना उत्पादनको लागि लगाउने गरिन्छ भने Amaranthus tricolor लाई सागको रूपमा रुचाउने गरिन्छ । सामान्यतया कालो दाना भएको लट्टेलाई साग तथा हल्का पहेलो रंग भएकोलाई अन्नको रुपमा प्रयोग गर्ने गरिन्छ। यो बाली अत्यन्त छोटो समय तथा कम व्यवस्थापनमै सागको रूपमा प्रयोग गर्न योग्य हुने गर्दछ ।

लट्टेको नेपाली बजार

यो बालीलाई स्वतः उम्रने खानयोग्य झारको रूपमा पनि लिने गरिन्छ । यसका कलिला मुन्टाहरूलाई परापूर्वकाल देखि सागको रूपमा प्रयोग गरिएको पाइन्छ । पहाडी बाली अनुसन्धान कार्यक्रमको सर्वेक्षण अनुसार विशेषतः नेपालको सुदुर पश्चिम क्षेत्रमा अन्नको रूपमा यसको व्यापक उत्पादन गरी भारतीय बजारमा बिक्री गर्ने तथा अन्य खाद्य बालीहरूसँग साट्ने गरिएको पाइएको छ । तथापि, यसको उत्पादन र कारोबारका सरकारी तथ्यांक अझै उपलब्ध छैन । नेपालकै तराई क्षेत्रका चितवन, नेपालगञ्ज, सर्लाही र मध्य पहाडका पोखरा, काठमाडौ जस्ता व्यापारिक केन्द्रहरूका विभिन्न तरकारी बजारहरूमा पनि यो सागको व्यापक कारोबार रहने गरेको पाइएको छ । अन्य सागजन्य तरकारीको आपूर्ति कम रहने मुख्यतया फाल्गुन देखि जेष्ठ महिना सम्मको सुख्खा समयमा यसको उत्पादन लिन सकिने हुँदा यो बाली उक्त समयमा तरकारी बजारहरूमा उच्च मागमा रहने गर्दछ । अहिलेसम्म बजारमा कारोबारमा रहेका लट्टेका जातहरू ठाउँ अनुसारका स्थानीय जातहरू नै रहेको पाइएको छ । तर साग र दाना बाहेक यो बालीका खाद्य परिकारहरू वनाएर व्यापारिक प्रयोजनले कारोबार गरिएको पाइएको छैन ।

लट्टेको पौष्टिक महत्व

लट्टेको दाना र पात दुवै पौष्टिकताले भरिपूर्ण हुन्छ । यसको दाना ९०% सम्म पचाउन सकिने भएकोले परम्परागत रूपले हिन्दु रीतिरिवाजहरूमा व्रत बस्नु पर्दा भुटेर दूधसँग खाने गरिन्छ । सुक्ष्मतत्वहरूको बढी जरुरत पर्ने बालबच्चा, सुत्केरी अवस्थाको महिला तथा बृद्ध / बृद्धाहरूलाई लट्टेमा पाइने खनिज तत्व फाइदाजनक देखिन्छ । विशेषगरी अन्य बालीहरूको तुलनामा यस बालीमा फलाम, क्याल्सियम, भिटामिन सी, फोलिक एसिड र गुणस्तरीय प्रोटिन जस्ता तत्वहरू बढी मात्रामा पाइने गर्दछन् । केही लेखहरूमा बताइए अनुसार दैनिक ५०-१०० ग्राम लट्टेको साग खाने गरेमा केटाकेटीमा हुने अन्धोपना कम भएको पाइएको छ । यो बालीको सागमा ३०% सम्म प्रोटिन पाइन्छ । अन्य अन्न बालीहरूमा भन्दा लट्टेमा लाइसिन नामक एमिनो एसिड ( सागमा ८० मिलि ग्राम र दानामा ३ मिलि ग्राम प्रति १०० ग्राम) पाइन्छ ।

लट्टे बालीको प्रति १०० ग्राम पात तथा दानामा पाइने विभिन्न पौष्टिक तत्वहरु

श्रोत: O’Brien and Prince 2008. Amaranth grain and vegetable types. Echo Technical note, http://www.echonet.org/

लट्टेको प्रयोग

पात/साग : लट्टेको पात र कलिलो डाँठ सहितको मुन्टालाई सलादको रूपमा काँचै, उमालेर मात्रै, अचार बनाएर वा अन्य स्वाद अनुसारको तरकारीसँग मिसाएर पकाएर खाने प्रचलन छ । धेरै समय सम्म पकाउँदा यसमा भएको पौष्टिक तत्वहरू नष्ट हुने र उमालेर पानी फ्याँक्दा तत्वहरू गुम्ने भएकोले उच्च तापक्रममा लामो समयसम्म पकाउनु हुँदैन ।

दाना : दानालाई भुटेर मह वा चिनीको चास्नीमा मोलेर डल्लो बनाई खान सकिन्छ भने भुटेको लट्टेलाई तातो दूधसँग पनि खान सकिन्छ। त्यसैगरी बाल आहारमा यसको पिठो प्रयोग गर्दा अत्यन्त उत्तम हुन्छ । लट्टेको रोटी, पाउरोटी, चकलेट बार पनि वनाउन सकिन्छ ।

खेती प्रविधि

हावापानी : यो बालीलाई सामान्यतया १००० मिटर भन्दा माथिको हावापानी उपयुक्त मानिन्छ, तर नेपालमा तराई, बेसी, मध्य पहाड र उच्च पहाड सबैतिर वर्षे मकै लगाउने समयमा लगाउन सकिन्छ । यो बालीले सुख्खा सहने हुनाले बीउ छर्ने बेलामा सामान्य चिस्यान पुगे मात्रै पनि उत्पादन लिन सकिन्छ । जातहरू : लट्टेको सागको लागि “रामेछाप हरियो लट्टे-१” अहिले सम्म दर्ता गरिएको एक मात्र जात हो । नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विभाग र लिवर्डले संयुक्त रूपमा कार्यान्वयन गरेको स्थानीय बाली परियोजनाले प्रकाशित गरेको नेपालको उच्च पर्वतीय क्षेत्रमा सिफारिसयोग्य र सिफारिस गरिएका विभिन्न बालीहरूको जातहरू (१९५९-२०१६) विषयक पुस्तकमा लट्टेको रातो मार्से, लाड़ी मार्से र सुन्तले लट्टे गरी तीन वटा जातहरूलाई दाना उत्पादनको लागि सिफारिसयोग्य भनी सूचीकृत गरिएको छ । त्यसैगरी पहाड़ी बाली अनुसन्धान कार्यक्रमले गरेको अनुसन्धानबाट २ वटा जातहरु तरकारीको लागि र ११ वटा जातहरू दाना उत्पादनको लागि समन्वयात्मक परीक्षणमा रहेका छन् ।

बीउको दर : बीउको दर साग वा खाद्यान्न के को लागि लगाइने हो सोही अनुसार फरक हुन्छ ।

सागको लागि बीउ दर

तरिका नं. १ : बोट देखि बोटको दुरी ५-१० से.मि. कायम गर्ने, यसो गर्दा बीउ छरेको ५-७ हप्ता भित्र सबै बिरुवा उखेलेर सागको रूपमा प्रयोग गर्न सकिन्छ ।

तरिका नं. २ : बोट देखि बोटको दुरी १५-३० से.मि. कायम गर्ने, यसो गर्दा बीउ छरेको ४-६ हप्ता पछि कलिलो टुप्पो पहिलो पटक काटेर र हरेक पटकको दोश्रो हप्तामा अर्को पटक टुप्पो काटेर सागको रूपमा प्रयोग गर्न सकिन्छ ।

खाद्यान्नको लागि बीउ दर : बोट देखि बोटको दुरी १०-१२ से.मि. र हार देखि हारको दुरी ५० से.मि. कायम राख्नु पर्दछ । यसरी रोप्दा प्रति रोपनी ६६५० बोट हुन आउछ। १-२ किलोग्राम बीउ प्रति हेक्टर वा १०० ग्राम बीउ प्रति रोपनी पर्याप्त हुन्छ ।

बीउ उपचार : बीउ छर्नु अगाडि थाइरम वा क्याप्टान नामक ढुसीनासक विषादी २ ग्राम प्रति के.जी. बीउको दरले बीउ उपचार गर्नु पर्दछ । यसले बीउबाट सर्ने र सानो उमेरमा लाग्ने जराको ढुसीजन्य रोगहरू नियन्त्रण गर्न मद्धत गर्दछ ।

रोप्ने समय : यो बालीलाई माटोमा चिस्यानको मात्रा अनुसार फाल्गुनको पहिलो हप्ता देखि जेष्ठको पहिलो हप्तासम्म बारीमा एकल बालीको रूपमा वा मकैसँग वा करेसाबारीमा अन्य तरकारी बालीहरूसँग मिसाएर पनि लगाउन सकिन्छ । नेपालको विभिन्न भू-भाग अनुसार तराईमा पुष / माघ, मध्य पहाडमा फाल्गुन देखि जेष्ठसम्म र उच्च पहाडमा चैत्र देखि बैसाख सम्म लगाउन सकिन्छ ।

जगाको तयारी, मलखाद व्यवस्थापन र बीउ रोप्ने तरिका

जग्गाको छनौट गर्दा पारिलो, निकासको राम्रो प्रबन्ध भएको हल्का दोमट माटो भएको उपयुक्त मानिन्छ । जग्गा तयार गर्नु अगाडि नै ७ – १० क्विन्टल प्रति रोपनी कम्पोस्ट वा राम्ररी कुहिएको गोबर मल र १:१:१ के. जी. नाइट्रोजन, फस्फोरस र पोटास प्रति रोपनीको दरले प्रयोग गर्नु पर्दछ र १ के. जी. नाइट्रोजनलाई उकेरा लगाउने बेलामा र फूल फुल्ने बेलामा आधा आधा प्रयोग गर्नु पर्दछ ।

बीउ अत्यन्त सानो हुने भएकाले माटो धुलो बनाउँदा बीउको सहि वितरण गर्न सकिन्छ । अन्यथा बीउ ठुला डल्लाहरूको बीचमा परेर नउम्रिन पनि सक्छ । सामान्यतया लट्टेको बीउलाई माटोको सतह भन्दा १.५-२ से.मि. तल छर्नु पर्दछ र धुलो माटोले हल्का पुर्नु पर्दछ । बीउ माथिको माटोको तह धेरै नै पातलो हुने हुनाले माथिल्लो सतहको माटो चाँडै सुक्छ, त्यसैले बीउ तथा भर्खरै उम्रेको बिरुवालाई सुख्खाबाट जोगाउन विशेष ध्यान दिनु पर्दछ ।

सिँचाई तथा पानीको व्यवस्थापन

बढी चिस्यान भएमा जरा कुहिने र ओउलाउने रोग लाग्ने भएकाले उपयुक्त परिमाणको सिँचाई दिनु पर्दछ । निकासको उचित प्रबन्धको लागि खेती लगाउने जग्गा अलि उठाउन सकिन्छ । ज्यादै सुख्खा भएको अवस्थामा २ पटक पानी दिनु पर्दछ तर पानीको अभाव भएमा फूल फुल्ने बेलामा दिन सकिन्छ । वर्षातको पानी वा सिँचाईको पानी २ घण्टा भन्दा बढी बारीमा जम्न दिनु हुँदैन । बढी पानी र बढी सुख्खा दुवै अवस्थामा सागको लागि लगाइएको लट्टेमा फूल फुल्न सक्ने हुँदा होसियार हुनु पर्दछ ।

झारपात व्यवस्थापन

वर्षायाममा लगाइने बाली भएकोले झारपातको प्रकोप बढी नै हुने गर्दछ । विशेषगरी भूगोल अनुसारको बर्खे झारहरूको प्रकोप बीउ रोपेको १५-३५ दिन सम्म बढी हुन्छ । पहिलो महिना कुटोको सहायताले झार निकाल्नु पर्दछ भने एक महिना पछि र उकेरा लगाउँदा कोदालोले पनि झारपात निकालेर व्यवस्थापन गर्न सकिन्छ ।

रोग र कीरा व्यवस्थापन

यस बालीको सुरुवाती अवस्थामा कीराहरूको प्रकोप खासै देखिंदैन । तर फूल फुलिसकेपछिका अवस्थामा विभिन्न कीराहरूले आक्रमण गर्दछन् । विशेषगरी फेद काट्ने कीरा, गभारो र पात खाने कीरा बढी मात्रामा लाग्ने गर्दछन् ।

कीरा व्यवस्थापन

फेद काट्ने कीरा (Cut worm) को व्यवस्थापन : जैविक विषादी बि. टि. २. ग्राम प्रति के.जी. गहुँमा चोकर वनाई आधा के. जी. प्रति रोपनीका दरले बीउ रोप्नु भन्दा १ हप्ता अघि माटोमा चाराको रुपमा राख्ने । क्लोरोपाईरिफस १०% गेडा प्रति रोपनीमा १ के. जी. का दरले राख्ने ।

गभारोको (Stem Borer) व्यवस्थापन : डाँठ भित्रका लार्भाको नियन्त्रण कठिन हुने भएकाले फूल पार्दै हिंड्ने पुतली देख्नासाथ साइपरमेथ्रिन १०% ई.सी. २ मि.लि. प्रतिलिटर पानीमा घोलेर छर्ने । कीराको प्रकोप बढ्दै गएमा क्लोरानट्रानिलिप्रोल १८.५ एस.जी. (कोराजन ) ३ मि.लि. प्रति १० लिटर पानीका दरले छर्कने । पात खाने कीरा (Leaf Caterpillar) को व्यवस्थापन : यो कीराले पातको हरियो भाग सबै खाएर जाली मात्रै बाँकी राख्ने गर्दछ । उक्त जाली छिट्टै सुक्दछ र उत्पादनमा ह्रास आउँदछ । रातीको समयमा यसको वयस्क कीरालाई बत्तिको पासोमा पारेर मार्न सकिन्छ । यसको नियन्त्रणको लागि मालाथियन ५०% ई.सी. १ मि.लि. प्रति लिटर पानीमा राखेर बिरुवामा छर्किनु पर्दछ ।

रोग व्यवस्थापन

लट्टेमा सामान्यतया रोगको प्रकोप हुँदैन । तर निकासको राम्रो प्रबन्ध नभए ओइलाउने र बोट मर्ने रोग लाग्दछ । केही महत्वपूर्ण रोगहरू र तिनको

व्यवस्थापन यस प्रकार छ ।

सेतो ढुसी (White Rust) : यो रोग लागेपछि पातको तल्लो भागमा सेता सेता ढुसीका पोका देखिन्छन् र माथिल्लोपट्टि पहेंलो देखिन्छ। यो रोगको व्यवस्थापनको लागि खेतबारी सफा राख्ने र रोग लागेका पात र झारहरू नष्ट गर्ने, दुइ भाग चुन र एक भाग गन्धकको धुलो मिसाएर मलमलको कपडामा पोको पारेर राम्ररि छर्ने वा इन्डोफिल-एम ४५ नामक ढुसीनाशक विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कनु पर्दछ ।

फेद तथा जरा कुहिने रोग Damping off (Pythium, Rhizoctonia) : यो रोग लागेपछि जरा कुहिने वा माटोको सतहमा कलिलो बोटको डाँठ कुहिने हुन्छ र बोट लड्छ। यो रोगको व्यवस्थापनको लागि ड्याङ्ग उठाएर मात्रै बीउ / बेर्ना लगाउने, कम्पोस्ट मल सँगै ट्राइकोडर्मा नामक ढुसीको प्रयोग गर्ने, माटोलाई गहिरो गरी जोतेर घाममा सुक्न दिने, क्लोरनेब नामक विषादीसंग बीउ र बेर्ना उपचार गर्ने, बालीचक्र अपनाउने, ओसिलो जग्गामा सकेसम्म खेती नगर्ने र धेरै र लामो समय सम्म सिँचाई नगर्ने ।

थोप्ले रोग (Cercospora leaf spot) : यो रोग पुरानो पातबाट नयाँ पालुवातिर सर्दै जान्छ । सुरुमा सानो सानो थोप्ला जस्तो देखिने यो रोग फैलिंदै ठुलो धब्बा वनाउँछ र पात पहेंलिन्छ । यो रोग व्यवस्थापन गर्नको लागि रोगी बोटको अवशेष जलाउने र लक्षण बोकेका पातहरू हटाउने, रासायनिक मलको सन्तुलित प्रयोग गर्ने, ढुसीनाशक विषादी कार्बेन्डाजिम ५०% डब्लुपी १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कने ।

बाली काट्ने र भण्डारण गर्ने

साग उत्पादन र टिप्ने तरिका : रोप्ने विधि अनुसार बोटै उखेलेर वा कलिलो टुप्पो काटेर उत्पादन लिन सकिन्छ । बीउ छरेको ४-६ हप्ता भित्र बोट उखेल्न मिल्ने हुन्छ भने ५-७ हप्तामा पहिलो पटक टुप्पो काटेर उत्पादन लिन सकिन्छ । पहिलो पटक टुप्पो काटेको दोश्रो हप्तामा अर्को पटक उत्पादन लिन सकिने हुन्छ र यसरी पहिलो उत्पादन पछि फूल फुल्नु अगाडिको ६० दिनसम्म वा करिब ५-६ पटकसम्म उत्पादन लिन सकिन्छ । राम्रो व्यवस्थापनमा एक हेक्टरमा ४-६ पटक लट्टेको मुन्टाबाट उत्पादन लिंदा सरदर १०-१५ टनसम्म हरियो साग लिन सकिन्छ । यो साग अत्यन्त छिटो ओइलाउने हुनाले तुरुन्त बजार पुर्र्याउनु पर्दछ वा टिपेर प्लास्टिक भित्र वन्द गरेर फ्रिजमा राख्नु पर्दछ ।

बीउको उत्पादन : लट्टेको बीउ धेरै नै सानो (११०० बीउ प्रति ग्राम) हुने हुँदा बाली काट्दा र थन्क्याउँदा सावधानी अपनाउनु पर्दछ । बालालाई माडेर हेर्दा बीउ सरर झर्यो भने बाली पाक्यो भन्ने बुझ्नु पर्दछ । बीउको उत्पादन लिंदा काट्ने, सुकाउने, चुट्ने, छान्ने र निफन्ने गर्नु पर्दछ । लट्टेको फूललाई हसियाले काटेर साना साना फूलहरूलाई छुट्याएर बोरामा राखेर वन्द गर्न सकिन्छ । यसरि वन्द गरिएको बोरालाई २-३ घाम सुकाएर लौरीले बोरा बाहिरैबाट चुटदा दाना र भुस सजिलै अलग हुन्छन् । तब मात्र सफा बीउ भण्डारण गर्नु पर्दछ । लट्टेलाई ९५ चिस्यानमा भण्डारण गर्दा ७ बर्षसम्म पनि उमारशक्ति कायमै गराउन सकिन्छ । उचित व्यवस्थापनमा लट्टेको औसत उत्पादन १० क्विन्टल प्रति हेक्टर वा ५० के.जी. प्रति रोपनी हुन्छ ।

सुक बहादुर गुरूङद्वारा लिखित र शवनम शिवाकोटी, प्रकाश आचार्यद्वारा सम्पादित तथा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा प्रकाशित लेखलाइ साभार गरिएको । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्