सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदल रोक्न एमाले अध्यक्ष ओलीको निर्देशन

धनगढी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल मन्त्री फेरबदल नगर्न निर्देशन दिनुभएको छ। मन्त्री परिवर्तनबारे छलफल गर्न बसेको एमाले संसदीय दलको बैठककै क्रममा अध्यक्ष ओलीले टेलिफोनमार्फत यस्तो निर्देशन दिनुभएको हो।

पार्टी स्रोतका अनुसार सोमबार एमाले संसदीय दल सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने विषयमा निर्णय लिन बैठकमा जुटेको थियो। सोही क्रममा अध्यक्ष ओलीले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई फोन गरी अहिलेको अवस्थामा मन्त्री परिवर्तन उपयुक्त नहुने बताउनुभएको थियो। अध्यक्ष ओलीले बजेट निर्माणको महत्वपूर्ण समय चलिरहेको उल्लेख गर्दै यस्तो बेला सरकारभित्र मन्त्री हेरफेर गर्दा सकारात्मक सन्देश नजाने भएकाले हालका मन्त्रीहरूलाई यथावत् राख्न निर्देशन दिनुभएको बताइएको छ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद व्यवस्थापन गर्न मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको थियो। त्यसैअनुसार एमालेभित्र पनि आफ्ना मन्त्रीहरू फेर्ने विषयमा छलफल तीव्र बनेको थियो। एमालेले सरकारमा रहेका पुराना मन्त्रीलाई फिर्ता बोलाएर दलका उपनेता सन्तोष शर्मा, चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री तथा जानकी ऐर बमलाई राज्यमन्त्रीका रूपमा पठाउने तयारी गरेको चर्चा थियो। तर अध्यक्ष ओलीको निर्देशनपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको छ।

हाल सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा तथा राज्यमन्त्री निर्मला साउँद सहभागी छन्। अध्यक्ष ओलीको हस्तक्षेपपछि सुदूरपश्चिम प्रदेश सरकारमा तत्काल मन्त्री फेरबदल नहुने स्पष्ट भएको छ भने बजेट अधिवेशन सकिएपछि मात्रै सरकार पुनर्गठनको विषय पुनः अघि बढ्न सक्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्