सिलिगुडीदेखि झापाको चारआलीसम्म निर्माण हुने यो नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन आयोजना हो। पाइपलाइनबाट आयात हुने इन्धन भण्डारण तथा वितरणका लागि चारआलीमा स्वचालित प्रणालीमा आधारित आधुनिक भण्डारणगृहसमेत निर्माण गरिने नेपाल आयल निगमले जनाएको छ। आयोजनाअन्तर्गत सिलिगुडीदेखि चारआलीसम्म आठ इन्च व्यासको पाइपलाइन जडान गरिनेछ। कुल ५० किलोमिटर लामो पाइपलाइनमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर रहनेछ। झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको इन्धन भण्डारणगृह निर्माण गरिनेछ।
निगमका अनुसार भण्डारणगृहमा पेट्रोलका लागि २ हजार २ सय किलोलिटर क्षमताका तीनवटा र डिजेलका लागि ४ हजार १ सय किलोलिटर क्षमताका तीनवटा भर्टिकल ट्याङ्क निर्माण गरिनेछन्। भण्डारणगृह निगमको झापास्थित आफ्नै २३ बिघा ३ कट्ठा जग्गामा निर्माण हुनेछ। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल निर्माणमा कुल ११ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमध्ये पाइपलाइन निर्माणमा ४ अर्ब २७ करोड र भण्डारणगृह निर्माणमा ६ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ। दुवै संरचना इन्डियन आयल कर्पोरेसन (आईओसी) ले निर्माण गर्नेछ।
परियोजना सम्पन्न भएपछि कोशी प्रदेशका साथै मधेश प्रदेशका सप्तरी र सिराहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने कार्यकारी निर्देशक साहले जानकारी दिनुभएको छ। आईओसीले पाइपलाइनको विस्तृत इन्जिनियरिङ रुट सर्वे तथा टर्मिनलको डिजाइन र नक्साङ्कन कार्यसमेत सम्पन्न गरिसकेको छ।
आयोजना निर्माणका लागि ५४ महिनाको समयसीमा निर्धारण गरिएको भए पनि आईओसीले ३३ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको साहले बताउनुभएको छ। हाल नेपाल आयल निगमसँग डिजेल, पेट्रोल, मटितेल र हवाई इन्धन गरी कुल १ लाख २ हजार किलोलिटर इन्धन भण्डारण क्षमता रहेको छ। नयाँ परियोजना सम्पन्न भएपछि थप १८ हजार ९ सय किलोलिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता थपिनेछ। पाइपलाइन निर्माणसँगै सडकमार्गबाट हुने इन्धन ढुवानीमा निर्भरता घट्ने, भन्सार क्षेत्रमा हुने सवारीसाधनको जाम कम हुने, ढुवानी खर्च बचत हुने तथा वातावरणीय प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने निगमको विश्वास छ। यसले नेपालको ऊर्जा सुरक्षा, इन्धन आपूर्ति व्यवस्थापन र आर्थिक बचतमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइन नेपाल सरकारलाई हस्तान्तरण
यसैबीच, प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइन परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
तीन अर्ब ९५ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त परियोजनामा आईओसीको तीन अर्ब २० करोड र नेपाल आयल निगमको ७५ करोड रुपैयाँ लगानी रहेको थियो। २०७६ भदौदेखि नियमित सञ्चालनमा रहेको यस पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ।
पाइपलाइनमार्फत नियमित रूपमा इन्धन आयात हुन थालेपछि बजारमा आपूर्ति व्यवस्था सहज हुनुका साथै सडकमार्गबाट हुने ढुवानी खर्चसमेत बचत हुँदै आएको नेपाल आयल निगमले जनाएको छ।




