दार्चुला – नेपाल र भारत जोड्ने दार्चुलाको असिगडा-छार्छुमस्थित मोटरेबल मैत्री पुल उद्घाटन भएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले खुसी व्यक्त गर्नुभएको छ। उहाँले पुलको शिलान्यासदेखि उद्घाटनसम्मको यात्रालाई आफ्नो लागि सुखद र गौरवपूर्ण क्षण भएको बताउनुभएको छ।
२०७९ असोज ३ गते भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी र तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका हैसियतमा आफूले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गरेको स्मरण गर्दै बडूले सोमबार (२०८३ मंसिर ७ गते) नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट जुममार्फत संयुक्त उद्घाटन भएको देख्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको हो।

पुल सञ्चालनमा आएसँगै ऐतिहासिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिकलाई आफ्नै सवारीसाधनबाट समेत सहज रूपमा आवतजावत गर्न सुविधा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। यस पुलले दुई देशबीचको उद्योग तथा व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै नेपाल, भारत र चीनबीचको त्रिदेशीय व्यापार विस्तारमा समेत प्रत्यक्ष लाभ पुग्ने अपेक्षा बडूले गर्नुभएको छ।
तर पुलबाट अपेक्षित लाभ लिन आसपासका सडक पूर्वाधारको विकास अपरिहार्य रहेको उहाँले औँल्याउनुभएको छ। दार्चुला, बैतडी र बझाङ जोड्ने सडकको स्तरोन्नति गर्नुका साथै दार्चुला–तिंकर नाका जोड्ने सडक निर्माणलाई तीव्रता दिनुपर्ने उहाँको भनाइ छ। त्यसैगरी दार्चुलादेखि कञ्चनपुरको दोधारा चाँदनीस्थित सुख्खा बन्दरगाहसम्म छोटो दूरीको सडक पूर्वाधार निर्माण गर्न सके पुलबाट अपेक्षित आर्थिक तथा व्यापारिक लाभ हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभएको छ।
पूर्वमन्त्री बडूले पुल उद्घाटनको सुखद अवसरमा नेपाल र भारतका दुवै प्रधानमन्त्रीलाई आफ्नो व्यक्तिगत तथा दार्चुलावासीका तर्फबाट आभारसहित धन्यवाद व्यक्त गर्नुभएको छ। साथै नेपाल-भारत सम्बन्ध दीर्घकालसम्म सुमधुर र सुदृढ रहोस् भन्ने कामनासमेत गर्नुभएको छ।





