गल्कोट घुम्टे सहकारीको २२औँ साधारणसभा सम्पन्न, अध्यक्षमा रुक्मप्रसाद ढकाल निर्वाचित

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अनमोल बैङ्क्वीटमा शनिवार सम्पन्न साधारण सभामा विभिन्न प्रस्तावहरु पारित गरेको छ ।कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । कार्यक्रम सञ्चालन नेरिक एकेडेमीका प्रिन्सिपल समेत रहेका मिलन कँडेल क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा सहकारी आयव्यय समेत प्रस्तुत गरिएको थियो ।

सहकारीले आर्थिक वर्ष २०८२/८३ मा ६८ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ । संस्थाले २२औँ वार्षिक साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्षको अन्त्यसम्म ६८ लाख २ हजार १८७ रुपैयाँ ३३ पैसा खुद मुनाफा गरेको हो ।

संस्थाको वार्षिक प्रतिवेदन तथा अध्यक्ष प्रशान्त ढकालले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म शेयर पुँजी ३ करोड १० लाख ४ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संस्थाको शेयर पुँजी २ करोड ८२ लाख २५ हजार ७०० रुपैयाँ रहेको थियो । त्यस्तै, संस्थाले सदस्यहरूबाट ४२ करोड ३३ लाख २८ हजार ६५३ रुपैयाँ २८ पैसा निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा निक्षेप संकलन ४४ करोड १७ लाख १६ हजार ३६५ रुपैयाँ ९७ पैसा रहेको थियो ।

त्यसैगरी, संस्थाको कर्जा लगानीमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ३९ करोड ३३ लाख ९० हजार ३१३ रुपैयाँ रहेको कर्जा लगानी चालु आर्थिक वर्षको अन्त्यसम्म ४० करोड ४४ लाख १८ हजार ३५० रुपैयाँ पुगेको छ । संस्थाले उक्त आर्थिक वर्षमा ब्याज आम्दानीतर्फ ४ करोड ४८ लाख ५७ हजार ९१० रुपैयाँ ७५ पैसा प्राप्त गरेको छ । ब्याज खर्चतर्फ ३ करोड ६ लाख ८० हजार ८६१ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, प्रशासनिक शुल्क, सदस्यता शुल्क, निवेदन शुल्क, खाता बन्द शुल्क तथा विविध आम्दानी गरी ४६ लाख ५९ हजार ५५२ रुपैयाँ ६५ पैसा आम्दानी भएको छ ।

प्रशासनिक तथा व्यवस्थापन खर्चमा ८० लाख २३ हजार ५६१ रुपैयाँ ४२ पैसा खर्च भएको छ भने खराब कर्जा व्यवस्थापनका लागि २२ लाख रुपैयाँ छुट्याइएको छ । आयकरबापत १७ लाख १० हजार ५८९ रुपैयाँ ८६ पैसा व्यवस्था गरिएको संस्थाले जनाएको छ । सम्पूर्ण खर्च कटाएर प्राप्त मुनाफाबाट नियमानुसार विभिन्न कोषमा रकम विनियोजन गरी शेयर सदस्यलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

संस्थाले आर्थिक तथा संस्थागत सुशासनलाई थप व्यवस्थित बनाउने क्रममा सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरेको जनाएको छ । त्यस्तै, कर्जा सूचना केन्द्रमा दर्ता, सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) मा सदस्यहरूको विवरण अद्यावधिक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईबाट सञ्चालित goAML प्रणालीमा आबद्ध भएको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा प्रस्तुत लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदनले संस्थाको वित्तीय कारोबार पारदर्शी बनाउन नियमित तथा आकस्मिक निरीक्षण, परीक्षण र अनुगमन गरिएको जनाएको छ । समितिले संस्थाको वित्तीय अवस्था थप मजबुत बनाउन सदस्यहरूलाई नियमित बचत गर्न प्रोत्साहित गर्नुपर्ने, प्रविधिमैत्री सेवा विस्तार गर्नुपर्ने र विगत केही वर्षदेखि असुल हुन नसकेका ऋणको असुलीका लागि ठोस कदम चाल्नुपर्ने सुझाव दिएको छ । संस्थाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शेयर पुँजी ३ करोड ३० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य प्रस्ताव गरेको छ । त्यस्तै, जगेडा कोष ३ करोड ७० लाख रुपैयाँ र अन्य कोष १ करोड २० लाख रुपैयाँ पुर्‍याउने तथा कर्जा लगानी ४५ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ ।

यसैबीच, सहकारीको २२औँ वार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति तथा लेखा समितिसमेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत गणेशकुमार श्रेष्ठले सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार सञ्चालक समितिको अध्यक्षमा रुक्मप्रसाद ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा दुर्गाबहादुर थापा, सचिवमा मिलन कडेल क्षेत्री र कोषाध्यक्षमा गंगा चालिसे बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ । सञ्चालक समिति सदस्यमा उजिरबहादुर थापा, मनिता खत्री र वलिभद्र शर्मा निर्विरोध चयन हुनुभएको छ ।

यसैगरी, लेखा समितिको संयोजकमा डा. मनबहादुर खत्री निर्वाचित हुनुभएको छ भने लेखा समिति सदस्यमा यशोदा ढकाल र डा. बोधराज गौतम निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभएको छ । सबै उम्मेदवारले २०८३ मंसिर १ गते उम्मेदवारी दर्ता गराउनुभएको थियो । २०६१ असोज ८ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा विधिवत् दर्ता भई स्थापना भएको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाले गल्कोट, बागलुङबाट काठमाडौं आई विभिन्न पेसा तथा व्यवसायमा संलग्न सदस्यहरूको सानो–सानो पुँजीलाई बचतका माध्यमबाट एकीकृत गरी आर्थिक तथा सामाजिक स्तर उकास्ने उद्देश्य राखेको छ ।

‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको आदर्शलाई आत्मसात् गर्दै स्थापना भएको संस्थाले साधारण बचत, क्रमिक बचत, बालशिक्षा बचत, नारी बचत, गल्कोट बचत, अनिवार्य बचत, रेमिट बचत तथा मुद्दती बचतलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरूलाई विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्नुका साथै रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्