काठमाडौं – एक सातायता लगातार घटिरहेको सुनको भाउमा आज पनि ठूलो गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । गएको शुक्रबारदेखि आजसम्म मात्रै सुनको भाउ प्रतितोला ३९ हजार ७०० रुपैयाँले घटेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो एक सातामा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । हिजो सुनको भाउ प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको थियो । त्यसैगरी बुधबार ६ हजार ३०० रुपैयाँ, मंगलबार १ हजार ९०० रुपैयाँ, सोमबार १ हजार १०० रुपैयाँ र आइतबार १ हजार ५०० रुपैयाँले घटेको थियो । त्यसअघि शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि आज ठूलो गिरावट आएको छ । चाँदी प्रतितोला २२५ रुपैयाँले घटेर ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारयता चाँदीको मूल्य पनि लगातार घटिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । पछिल्लो समय अमेरिकी डलर बलियो बन्दै जाँदा अन्य मुद्रा प्रयोग गर्ने खरिदकर्ताका लागि सुन महँगो परेको छ । यसले विश्व बजारमा सुनको माग घटाउन सहयोग गरेको बताइएको छ ।
त्यसैगरी अमेरिकामा महँगी कायमै रहेकाले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले आगामी डिसेम्बरमा पुनः ब्याजदर बढाउन सक्ने अनुमान गरिएको छ । ब्याजदर बढ्ने अपेक्षाले लगानीकर्ताको आकर्षण सुनबाट अन्य लगानीका क्षेत्रमा सर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो ।




