काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा बैंकको ऐतिहासिक योगदान, वर्तमान अवस्था र आगामी दिनमा बैंकिङ क्षेत्रले अवलम्बन गर्नुपर्ने सुधारका विषयमा चर्चा गरिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा सम्पन्न समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल बैंकको स्थापना आर्थिक उन्नति, जनतालाई वित्तीय सुविधा प्रदान गर्ने र मुलुकको विकास गर्ने उद्देश्यसँग जोडिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले बैंकले आगामी दिनमा उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले यी तीनवटा विषयलाई बैंकिङ क्षेत्रको सुधारका प्रमुख आधारका रूपमा औँल्याउनुभयो । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले बैंकिङ क्षेत्रको सफलता निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकारले मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्याएको योगदानका आधारमा मापन हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित गर्नुपर्ने उल्लेख गर्दै कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना र मझौला उद्योगमा लगानी विस्तार गर्न बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । त्यसैगरी, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उहाँको भनाइ थियो । सरकारी स्वामित्वको बैंक भएकाले नेपाल बैंकले संस्थागत सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैंकप्रति जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उहाँले वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि अर्थमन्त्री वाग्लेले जोड दिनुभयो । डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न बैंकले थप पहल गर्नुपर्ने उहाँले बताउनुभयो । अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाल बैंक आगामी दिनमा अझ सबल बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।





