स्कटल्यान्डका जर्ज मुन्से सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौँ । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्से नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्धित हुनुभएको छ । ओपनिङ ब्याटर मुन्से सीमित ओभरको क्रिकेटमा स्कटल्यान्डका भरपर्दा खेलाडीका रूपमा परिचित हुनुहुन्छ । एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आक्रामक ब्याटिङका लागि चर्चित उहाँले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको ऐतिहासिक पहिलो एकदिवसीय जितमा ५५ रन बनाउँदै चर्चा कमाउनुभएको थियो ।

सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उहाँको टी–२० करियरको उल्लेखनीय प्रदर्शन हो । उक्त खेलमा उहाँले काइल कोएट्जरसँग पहिलो विकेटका लागि २०० रनको साझेदारी गर्नुभएको थियो । सोही खेलमा स्कटल्यान्डले २५२ रन बनाएको थियो, जुन टोलीको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च योगफल हो । त्यस्तै, सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध १५० बलमा १९१ रन बनाउँदै मुन्सेले एसोसिएट राष्ट्रका ब्याटरमध्ये एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान कायम गर्नुभएको थियो । सन् २०२२ को टी–२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित ६६ रन बनाउनुभएका उहाँले सन् २०२६ को विश्वकपमा इटालीविरुद्ध ८४ रनको योगदान दिनुभएको थियो ।

मुन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । एकदिवसीय क्रिकेटमा उहाँले तीन शतक र १९ अर्धशतकसहित २ हजार ७७७ रन बनाउनुभएको छ । त्यस्तै, टी–२० अन्तर्राष्ट्रियमा तीन शतक र १४ अर्धशतकसहित २ हजार ५९८ रन बनाउनुभएको छ ।

समग्र टी–२० क्रिकेटमा उहाँले १३३ खेलबाट ३ हजार ६९८ रन बनाउनुभएको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले मुन्सेको अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटको अनुभव र आक्रामक ब्याटिङ क्षमताले टोलीको शीर्षक्रम थप बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । टोलीमा आबद्ध भएपछि मुन्सेले नेपालमा पुनः खेल्न पाउँदा खुसी लागेको बताउनुभएको छ । गत संस्करण नेपालमा खेलेको अनुभव राम्रो रहेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिम रोयल्सका समर्थकलाई खुसी बनाउने लक्ष्यसहित उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्