नबिल एसएसईको पाँच वर्ष पूरा, ३१८ सामाजिक उद्यम स्थापना, १९ हजारभन्दा बढीलाई रोजगारी

काठमाडौँ । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई) ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ ।

यस अवधिमा कार्यक्रममार्फत एक हजार ५८० जनाले उद्यमशीलतासम्बन्धी सीप तथा प्रशिक्षण प्राप्त गरेका छन् । उनीहरूको पहलमा ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन् भने १९ हजार ३०३ जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी र जीविकोपार्जनका अवसर प्राप्त गरेको बैंकले जनाएको छ ।

सामाजिक समस्या पहिचान गरी उद्यमशीलतामार्फत दिगो समाधान खोज्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । यसले उद्यमशील सोच भएका युवालाई ज्ञान, सीप, मार्गदर्शन, व्यावसायिक सञ्जाल तथा आवश्यक अवसर उपलब्ध गराउँदै नवीन विचारलाई व्यावहारिक उद्यममा रूपान्तरण गर्न सहयोग गर्दै आएको छ ।

बैंकका अनुसार फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक हजार ५८० जना लाभान्वित भएका छन् । फेलोसिप कार्यक्रमका छ वटा समूहबाट ११३ जना प्रशिक्षित भएका छन् । उनीहरूको नेतृत्वमा ९३ वटा उद्यम स्थापना भई सञ्चालनमा रहेका छन् ।

त्यस्तै, देशभरका विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको सर्टिफिकेट कोर्सबाट एक हजार ४६७ जना लाभान्वित भएका छन् । उक्त कार्यक्रमका सहभागीहरूले २२५ वटा उद्यम स्थापना गरेका छन् ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पाँच वर्षको यात्राले सामाजिक उद्यमशीलतामार्फत दिगो परिवर्तन सम्भव रहेको पुष्टि गरेको बताउनुभयो ।

उद्यमशीलतालाई आर्थिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक समस्या समाधान र सकारात्मक परिवर्तनको माध्यमका रूपमा अघि बढाइएको उहाँको भनाइ छ । उचित ज्ञान, मार्गदर्शन र अवसर पाए नेपाली युवाले नवीन सोचलाई सफल उद्यममा रूपान्तरण गरी समुदाय तथा राष्ट्रको विकासमा योगदान दिन सक्ने उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको नबिल एसएसई फेलोसिप छ महिनाको गहन सिकाइ तथा क्षमता विकास कार्यक्रम हो । बैंकका अनुसार फेलोसिपको सातौँ समूहका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्