धनकुटा । बजारमा सहजै बिक्री नहुने र कम मूल्यमा बिक्री गर्नुपर्ने किबीलाई प्रशोधन गरी वाइन उत्पादन गर्ने उद्देश्यले धनकुटाको महालक्ष्मी नगरपालिका–२, तोरीबारीमा किबी वाइन उद्योग सञ्चालनमा आएको छ । करिब १५ करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको बसन्तपुर तिनजुरे बेभरेज प्रालिले ‘तिनजुरे बगान’ ब्रान्डमा किबी वाइन उत्पादन गरिरहेको छ । उद्योगले उत्पादनको स्वाद र गुणस्तर परीक्षण गरी छिट्टै व्यावसायिक बिक्री सुरु गर्ने तयारी गरेको छ ।
२०७४ सालमा स्थापना भएको उद्योगले आफ्नै करिब एक सय रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आएको छ । आफ्नै उत्पादनले मात्रै उद्योग सञ्चालन गर्न पर्याप्त कच्चा पदार्थ नपुग्ने भएपछि स्थानीय किसान तथा छिमेकी जिल्लाबाट समेत किबी खरिद गर्दै आएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता तीन लाख लिटर रहेको छ । पूर्ण क्षमतामा सञ्चालन गर्न वार्षिक पाँच सय मेट्रिक टन किबी आवश्यक पर्ने भए पनि पर्याप्त कच्चा पदार्थको अभावमा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
उद्योगले गत वर्ष किसानबाट प्रतिकिलो ८० रुपैयाँका दरले किबी खरिद गरेको थियो । चालु वर्ष बजारमा सहजै बिक्री नहुने बी र सी ग्रेडका किबीसमेत किसानको बारीबाटै खरिद गर्न थालेको छ । यसले बजार नपाएर बारीमै खेर जाने किबीको उपयोग हुनुका साथै किसानलाई उत्पादन बिक्री गर्ने थप विकल्प मिलेको छ । उद्योग सञ्चालक दुर्गामणि पौडेलका अनुसार स्थानीय कृषि उपजको उपयोग बढाउने र किसानको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग स्थापना गरिएको हो । कृषि उत्पादनमा आधारित उद्योग भए पनि वाइन उत्पादनमा लाग्ने अन्तःशुल्कका कारण लागत बढेको उहाँको भनाइ छ । कृषि उपज प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने उद्योगलाई करमा सहुलियत दिनुपर्ने उहाँको माग छ ।
उद्योगमा जग्गा, किबी खेती र औद्योगिक संरचनासहित हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । उद्योगले कृषि मन्त्रालयबाट २५ लाख रुपैयाँ र विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक करिडोर कार्यालयबाट ७० लाख रुपैयाँ अनुदानसमेत प्राप्त गरेको छ । उक्त सहयोगबाट करिब दुई करोड रुपैयाँ लागतका क्रसिङ तथा ज्याकेटेड मेसिन खरिद गरिएको उद्योगले जनाएको छ ।
उद्योगमा नियमित रूपमा पाँच जनाले रोजगारी पाएका छन् भने किबी उत्पादनको मौसममा १५ देखि २० जनासम्मले काम पाउने गरेका छन् । स्थानीय किसान टीकाराम गुरुङका अनुसार उद्योगले बजारमा बिक्री गर्न कठिन हुने किबीसमेत खरिद गर्न थालेपछि किसानलाई राहत पुगेको छ । त्यस्तै, वडा सदस्य तथा किसान दिलबहादुर मगरले उद्योगले स्थानीय कृषि उपजको बजारीकरण र रोजगारी सिर्जनामा सहयोग पुर्याएको बताउनुभयो । उद्योगले बजारमा पठाउनुअघि काठमाडौंका वाइन पारखीमाझ स्वाद र गुणस्तर परीक्षणसमेत गरेको छ । दसैँ र तिहारको बीचमा गरिएको परीक्षणबाट प्राप्त सुझावका आधारमा उत्पादनमा थप सुधार भइरहेको उद्योगले जनाएको छ ।
आगामी वर्षदेखि उत्पादन क्षमता विस्तार गर्ने र केही वर्षभित्र खाडी मुलुकसम्म किबी वाइन निर्यात गर्ने लक्ष्य उद्योगले लिएको छ । उद्योग व्यावसायिक रूपमा विस्तार हुन सके स्थानीय किबी उत्पादक किसानका लागि बजार सुनिश्चित हुनुका साथै कृषि उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।






