काठमाडौँ – गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणीका ९ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रालयको मङ्सिर ११ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो। निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यस्तै, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। मन्त्रालयका अनुसार गीता कुमारी होमेगाईलाई रामेछाप, वीरेन्द्रकुमार मिश्रलाई दैलेख, विमलप्रसाद बराललाई महोत्तरी, शिवप्रसाद रेग्मीलाई प्युठान र दीपक लामिछानेलाई सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापना गरिएको छ।
यस निर्णयसँगै पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर भएको छ।






