काठमाडौं – मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्कका नाममा अतिरिक्त रकम असुली गरी गैरकानुनी रूपमा विदेश पठाएको आरोपमा भइरहेको अनुसन्धान थप फराकिलो बनेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहेका बेला गरेको निर्णय प्रक्रियामा संलग्न रहेको र आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा भूमिका रहेको आरोपमा अर्याललाई विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। यसअघि यही प्रकरणमा दुई पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वसचिव विनोद केसीसहित १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
सीआईबीका अनुसार नेपाल र मलेसियाबीच भएको श्रम समझदारी तथा कानुनी प्रक्रिया मिचेर श्रमिकबाट अतिरिक्त शुल्क संकलन गरिएको र उक्त रकम मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार २०७६ साउन १ गतेदेखि हालसम्म म्याक्रोटेक प्रालिमार्फत करिब १ अर्ब ६९ करोड रुपैयाँ विदेश पठाइएको आरोप छ।
मलेसिया जाने श्रमिकको मेडिकल स्क्रिनिङ अर्थात् बायोमेडिकल सेवाका नाममा प्रतिव्यक्ति १०० रिंगेट शुल्क संकलन हुँदै आएको थियो। नेपाल र मलेसियाबीचको समझदारीअनुसार उक्त खर्च रोजगारदाताले बेहोर्ने व्यवस्था रहेको सम्बन्धित पक्षको दाबी छ। तर, शुल्क संकलन र रकम विदेश पठाउने प्रक्रियामा अनियमितता भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
यस प्रकरणमा अनुसन्धान सुरु भएपछि मेडिकल स्क्रिनिङ प्रक्रिया रोकिएको छ। जसका कारण गत असोज १५ गतेदेखि नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाएका छैनन्। लामो समयदेखि मलेसियाको रोजगारीमा निर्भर नेपाली श्रमिक प्रभावित भइरहेका छन्।
यता, म्याक्रोटेक कम्पनीले भने नेपाल सरकारको अनुमति, मलेसियाली दूतावासको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा नै रकम भुक्तानी गर्दै आएको दाबी गरेको छ। कम्पनीका अनुसार उक्त प्रक्रियाबाट राज्यकोषमा करिब ५९ करोड ६४ लाख रुपैयाँ राजस्वसमेत जम्मा भएको छ। प्रहरीले भने श्रम समझदारी, शुल्क संकलन र रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।






