भारत – नेपाली साहित्यकार हेमबाबु लेखक भारतको पञ्जाबस्थित जालन्धरमा आयोजित ३०औँ वार्षिक स्रष्टा सम्मान समारोहमा अन्तर्राष्ट्रिय कला अवार्डबाट सम्मानित हुनुभएको छ।
पञ्जाब कला साहित्य अकादमीद्वारा आयोजित समारोहमा साहित्य तथा सांस्कृतिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो। जालन्धरस्थित लायन्स क्लबमा आयोजित कार्यक्रममा भारतका विभिन्न प्रान्तका साहित्यकार, कलाकार तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
विगत दुई दशकदेखि साहित्य सिर्जना तथा साहित्यिक र सांस्कृतिक अभियानमा सक्रिय लेखकका आधा दर्जनभन्दा बढी साहित्यिक तथा अनुसन्धानमूलक कृति प्रकाशित छन्। उहाँले सुदूरपश्चिमका विभिन्न दुर्गम क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक सम्मेलन आयोजना गर्नुका साथै स्थानीय भाषा, साहित्य, लोकसंस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आउनुभएको छ।
नेपाल र भारतका साहित्यकारहरूको सहभागितामा सुदूरपश्चिमका विभिन्न स्थानमा साहित्यिक कार्यक्रम आयोजना गर्दै आउनुभएका लेखकले दुई देशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। विशेषगरी मानसखण्ड क्षेत्रको साझा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा उहाँको सक्रियता रहँदै आएको छ। भारतको पञ्जाबमा प्राप्त यस अन्तर्राष्ट्रिय सम्मानले नेपाली साहित्य र सुदूरपश्चिमको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।






