प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

काठमाडौं – भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ। नयाँ दिल्लीमा हुने भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक साझेदारी र विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने कार्यक्रम छ।

भेटवार्ताका क्रममा नेपाल र भारतबीच आर्थिक साझेदारी, यातायात सम्पर्क सञ्जाल (कनेक्टिभिटी), डिजिटल कनेक्टिभिटी, जलस्रोत, ऊर्जा, व्यापार, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएको १० बुँदे दृष्टिपत्र संयुक्त विज्ञप्तिसँगै सार्वजनिक गर्ने तयारी गरिएको छ। दुई प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयले प्राथमिकता पाउने बताइएको छ। यद्यपि, नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई प्रवेश विन्दु अर्थात् एयर रुटको विषयमा छलफल हुने वा नहुने अझै निश्चित भइसकेको छैन।

यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी छ। सडक, रेल तथा हवाई कनेक्टिभिटी, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, सूचना प्रविधि, स्टार्टअप, जलविद्युत्, ऊर्जा, स्वास्थ्य, शिक्षा, सुशासन र विकास सहायताका क्षेत्रमा समेत सहकार्यसम्बन्धी सम्झौता हुने कार्यक्रम छ।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले विभिन्न पूर्वाधार तथा विकास परियोजनाको संयुक्त उद्घाटन गर्ने कार्यक्रमसमेत तय भएको छ। जनकपुर–अयोध्या रेल सेवा, भैरहवा–सुनौली एकीकृत जाँच चौकी, दार्चुलास्थित महाकाली पुल र काभ्रेमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ। त्यसैगरी दोधारा चाँदनी एकीकृत जाँच चौकी, अमलेखगञ्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजना र सिलिगुडी–चारआली परियोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नुहुनेछ। त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक, कूटनीतिक तथा विकास साझेदारीलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्