काठमाडौं – गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपहार खबरका सञ्चालक तथा प्रधान सम्पादकलाई सम्मान गरेको छ । संस्थाको २२औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा सञ्चारकर्मीका रूपमा आर्थिक क्षेत्रका विषयमा निरन्तर कलम चलाउनुका साथै सहकारीका विभिन्न गतिविधि तथा उपलब्धिलाई आमसञ्चार माध्यममार्फत विश्वभर प्रचारप्रसार गर्न योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष प्रशान्त ढकाल र प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले सम्मान गर्नुभएको थियो । सहकारी क्षेत्रका गतिविधि, आर्थिक अवस्था, वित्तीय साक्षरता तथा संस्थागत उपलब्धिलाई सञ्चारमाध्यममार्फत आमनागरिकसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको कार्यक्रममा जोड दिइएको थियो ।
गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाको विकास, सामाजिक उत्तरदायित्व तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान गरेको हो । २०६१ साल असोज ८ गते स्थापना भएको संस्थाले काठमाडौंमा रहेका गल्कोटवासीलाई समेट्दै बचत तथा ऋणलगायतका वित्तीय सेवा प्रदान गर्दै आएको छ ।




