काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। भवन निर्माणको औपचारिक सुरुवात गर्दै आज विधिवत् रूपमा भूमिपूजा सम्पन्न गरिएको छ।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने प्रस्तावित भवन १२ तलाको हुनेछ। बैंकका अनुसार यो भवन प्रशासनिक प्रयोजनमा मात्र सीमित नभई संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको व्यावसायिक दृष्टिकोणको प्रतीकका रूपमा विकास गरिनेछ।

भवन निर्माणमा आधुनिक इन्जिनियरिङ प्रविधि र वातावरणीय दिगोपनलाई प्राथमिकता दिइएको बैंकले जनाएको छ। जमिनको स्थिरता तथा आसपासका संरचनाको सुरक्षालाई ध्यानमा राख्दै ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिनेछ।
त्यसैगरी वर्षाको पानी सङ्कलन तथा पुनःप्रयोग गर्ने प्रणाली र सौर्य ऊर्जा प्रणाली जडान गरी भवनलाई ऊर्जा-दक्ष तथा वातावरणमैत्री बनाउने योजना रहेको छ। सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि दुई तहको भूमिगत पार्किङको व्यवस्था पनि गरिनेछ।
बैंकले मुलुकका ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न सम्मान प्राप्त गर्दै आएको जनाएको छ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ पूर्वाधारले बैंकका वित्तीय सेवाहरूलाई थप सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउनुका साथै मुलुकको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले बैंकलाई आजको अवस्थामा पुर्याउन सहयोग गर्ने ग्राहक, शेयरधनी, नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय तथा बैंकका कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
नयाँ कर्पोरेट भवन निर्माण सम्पन्न भएपछि बैंकको संस्थागत कार्यसम्पादन, सेवा प्रवाह र व्यवस्थापकीय क्षमतामा थप सुधार आउने अपेक्षा गरिएको छ।




