काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज काठमाडौं गोर्खाज र साविक विजेता लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको लुम्बिनी लायन्स ७ अङ्कसहित अंकतालिकाको शीर्ष स्थानमा छ। काठमाडौं गोर्खाज भने ४ अङ्कसहित चौथो स्थानमा रहेको छ।
आजको खेलमा दुवै टोली जित निकाल्दै आफ्नो स्थिति थप बलियो बनाउने लक्ष्यका साथ मैदान उत्रनेछन्।
यसअघि शुक्रबार एनपीएलमा दुई खेल भएका थिए। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हराएको थियो।
लगातार चौथो हार बेहोरेको पोखरा अंकतालिकाको पुछारमा छ। उसको प्लेअफ पुग्ने सम्भावना पनि कमजोर बनेको छ।
त्यस्तै, कर्णाली याक्सका लागि दक्षिण अफ्रिकी खेलाडी डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
एनपीएलमा प्लेअफ दौड रोमाञ्चक बन्दै जाँदा आजको काठमाडौं र लुम्बिनीबीचको खेललाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।




