दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिकाको सदरमुकाम तथा गाउँपालिका कार्यालय रहेको केन्द्रसम्म सडक सञ्जाल विस्तार भएको छ। लामो समयको प्रतीक्षापछि गाउँपालिकाको केन्द्रमा सडक पुगेपछि स्थानीयवासीमा खुसी र उत्साह छाएको छ। गाउँपालिकाको निरन्तर प्रयास, निर्माण व्यवसायीको मेहनत तथा स्थानीयवासीको अमूल्य सहयोगबाट सडक निर्माण कार्य सफल भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको केन्द्रसम्म सडक पुगेपछि स्थानीयलाई आवतजावत, दैनिक उपभोग्य सामग्री ढुवानी तथा सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले गाउँपालिकाको केन्द्रसम्म सडक पुर्याउनु समग्र पालिकाका लागि खुसी र गौरवको विषय भएको बताउनुभयो। उहाँले लामो समयदेखिको प्रतीक्षा र प्रयासपछि सडक गाउँपालिकाको केन्द्रसम्म पुगेको उल्लेख गर्दै यसले स्थानीयको जीवनशैली र विकासका गतिविधिमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष बोहराले सडक निर्माण कार्य सफल बनाउन सहयोग गर्ने निर्माण कम्पनी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा सम्पूर्ण गाउँपालिकावासीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि गाउँपालिकाको समग्र विकास र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भौगोलिक विकटताका कारण लामो समयदेखि यातायातको कठिनाइ भोग्दै आएका अपिहिमालवासीका लागि गाउँपालिकाको केन्द्रसम्म सडक पुग्नु महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।







