अपिहिमाल पर्यटन उत्सव २०८३ सम्पन्न, पर्यटन प्रवर्द्धनमा नयाँ आशा

 

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको ‘अपिहिमाल पर्यटन उत्सव २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। अपि हिमालको आधार शिविर (अपि बेस क्याम्प) मा आयोजित उत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्ष भक्त सिँह ठेकरे बोहराले गर्नुभएको थियो ।

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीम भण्डारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, जैविक विविधता र मौलिक संस्कृति रहेको अपिहिमाल क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो। अपि हिमालको आधार शिविरमै कार्यक्रम आयोजना हुनुले यस क्षेत्रको पर्यटकीय सम्भावना र प्राकृतिक आकर्षणलाई थप उजागर गरेको छ।

अपिहिमाल क्षेत्र साहसिक पर्यटन, पदयात्रा, हिमाल आरोहण, धार्मिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो। पर्याप्त प्रचारप्रसार र पूर्वाधार विकास हुन सके यस क्षेत्रले सुदूरपश्चिमको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने अपेक्षा गरिएको छ।

उत्सवले अपिहिमालको पर्यटन सम्भावनालाई देश तथा विदेशमा चिनाउनुका साथै स्थानीय रोजगारी, आर्थिक गतिविधि र पर्यटन व्यवसाय विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। यस कार्यक्रमलाई सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मी, कलाकार, स्थानीयसँगै सरोकारवालाको उपस्थितिरेहको थियो। यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र विष्ट लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्