काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ। यमपञ्चकको पहिलो दिन आज देशका विभिन्न स्थानमा धनतेरस र यमदीपदान मनाइँदैछ।
विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलित धनतेरस मनाउने परम्परा पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। यस दिन साँझ घरघरमा दीप प्रज्वलन गरी नयाँ धातुका भाँडाकुँडा, सुनचाँदी तथा गरगहना खरिद गरेर पूजा गर्ने धार्मिक मान्यता रहेको छ।
धनतेरससँगै आज यमदीपदान पनि गरिन्छ। यमराजको पूजा गरी दीपदान गर्दा परिवारका सदस्यको अकाल मृत्युबाट रक्षा हुने धार्मिक विश्वास छ। यसैबीच त्रयोदशीका दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ।
यस वर्षको तिहारअन्तर्गत कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइनेछ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ। त्यसैगरी कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने कार्यक्रम रहेको छ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ।
यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइनेछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिएर भाइटीका मनाउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ। पाँच दिनसम्म मनाइने तिहारमा दीपावली, पूजा, पारिवारिक भेटघाट र आपसी सद्भाव आदानप्रदान गर्दै पर्व मनाउने गरिन्छ।




