काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दो, आइतबारसम्म अस्वस्थकर रहने पूर्वानुमान

 

काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्किँदै गएको छ। पछिल्ला दिनमा प्रदूषणको मात्रा बढेपछि उपत्यकाका विभिन्न क्षेत्रमा वायु अस्वस्थकर तहमा पुगेको छ। आगामी आइतबारसम्म पनि प्रदूषणको अवस्था यस्तै रहने पूर्वानुमान गरिएको छ।

स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन गरिएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजेसम्म उक्त क्षेत्रमा १२७ मापन भएको छ।

काठमाडौं महानगरपालिकाको वायु गुणस्तर अनुगमन ड्यासबोर्डले स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडीबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर रहेको देखाएको छ। प्रदूषण बढ्दै गएपछि महानगरपालिकाले वायु प्रदूषण गराउने गतिविधि नगर्न सर्वसाधारण तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

सुक्खा मौसममा वर्षा कम हुने, हावामा धुलोका कण उड्ने र प्रदूषित सूक्ष्म कणको मात्रा बढ्ने भएकाले उपत्यकाको वायु गुणस्तर प्रभावित हुने गरेको छ। सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्यबाट उड्ने धुलो तथा अन्य प्रदूषणका स्रोतले समेत समस्या थप्ने गरेका छन्।

वायु गुणस्तर मापनअनुसार पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म पुग्दा विशेषगरी संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ। यस्तो अवस्थामा बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति तथा दीर्घरोगी बढी जोखिममा हुन्छन्। पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा भने सबै समूहका मानिसको स्वास्थ्यमा असर पर्न सक्ने मानिन्छ।

पीएम २.५ भन्नाले व्यास २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म प्रदूषित कणलाई बुझिन्छ। यस्ता कण श्वासप्रश्वासका क्रममा फोक्सोको भित्री भागसम्म पुग्न सक्छन् र रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छन्। लामो समयसम्म यस्ता कणको सम्पर्कमा रहँदा मुटु तथा फोक्सोसँग सम्बन्धित गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा पाँच माइक्रोग्रामभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ। त्यस्तै २४ घण्टाको औसत मात्रा प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने संगठनको सिफारिस छ।

दिल्लीमा वायु प्रदूषणको अवस्था झन् गम्भीर

छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा पनि वायु प्रदूषण अत्यधिक बढेको छ। विभिन्न क्षेत्रमा वायु गुणस्तर सूचकांक ४०० नाघेपछि त्यहाँको अवस्था गम्भीर तहमा पुगेको छ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ मापन गरिएको थियो। जवाहरलाल नेहरू स्टेडियम आसपास ४२१ र नजफगढमा ४१४ एक्यूआई रेकर्ड भएको छ। चाँदनी चोक क्षेत्रमा भने ३९१ मापन गरिएको छ।

सीपीसीबीले एक्यूआई ४०१ देखि ५०० सम्मको अवस्थालाई गम्भीर अर्थात् सिभियर श्रेणीमा राखेको छ। यस्तो प्रदूषित हावाले स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्छ भने पहिलेदेखि बिरामी रहेका व्यक्तिमा गम्भीर समस्या देखिन सक्छ।

त्यस्तै एक्यूआई ३०१ देखि ४०० सम्म रहँदा लामो समयसम्म प्रदूषित हावामा श्वास फेर्दा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्ने जनाइएको छ। सीपीसीबीको वर्गीकरणअनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो र ५१ देखि १०० सम्मलाई सन्तोषजनक मानिन्छ।

काठमाडौं र नयाँदिल्ली दुवै सहरमा प्रदूषण बढ्दै गएपछि वायु गुणस्तर सुधारका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी प्रदूषण बढी भएका क्षेत्रमा अनावश्यक बाहिरी गतिविधि कम गर्ने र संवेदनशील समूहले अतिरिक्त सावधानी अपनाउने स्वास्थ्य विज्ञहरूको सुझाव छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्