विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको शानदार जित

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। विराटनगरले प्रस्तुत गरेको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमै एक विकेट गुमाएर पूरा गरेको हो।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा काठमान्डुले तीन खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा पराजित भए पनि त्यसपछिका दुई खेल जित्दै टोली अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेल खेलिसकेको विराटनगरको भने यो तेस्रो हार हो। समान चार अंक रहे पनि कमजोर रनरेटका कारण विराटनगर पाँचौँ स्थानमा झरेको छ।

काठमान्डुको जितमा अस्ट्रेलियाली ब्याटर डेभिड वार्नर र विलियम बोसिस्टोले उत्कृष्ट प्रदर्शन गरे। वार्नरले २४ बलमा दुई चौका र तीन छक्कासहित अविजित ४४ रन बनाए। बोसिस्टोले पनि २४ बलमा तीन चौका प्रहार गर्दै नटआउट २३ रनको योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी भएको थियो। ओपनर साहिल पटेल ११ बलमा १० रन बनाएर आउट भए। विराटनगरका अपराजित पौडेलले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमै समेटिएको थियो। टोलीका लागि नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। उनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ बलमा २२ रन बनाउँदा बसिर अहमदले १० रन जोडे।

विराटनगरका अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्। शेहान जयसूर्या पाँच, लोकेश बम छ, आन्द्रे रसेल तीन र अपराजित पौडेल दुई रनमा आउट भए। इमरान शेख, नारायण जोशी र शुभम रञ्जानेले खाता खोल्न सकेनन्। कप्तान सन्दीप लामिछाने तीन रनमा अविजित रहे।

विराटनगरले सुरुवातदेखि नै कमजोर ब्याटिङ गरेको थियो। पहिलो विकेटका लागि शेहान जयसूर्या र लोकेश बमले ११ रनको साझेदारी गरे पनि त्यसपछि लगातार विकेट गुमाएको टोली ३५ रन पुग्दा सात विकेट गुमाउने अवस्थामा पुगेको थियो। संकटमा परेको इनिङ्सलाई एन्जेलो म्याथ्युज र रुपेश सिंहले केही सम्हाल्ने प्रयास गरे। उनीहरूले आठौँ विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गरे। यही साझेदारी विराटनगरको इनिङ्सकै सबैभन्दा ठूलो साझेदारी बन्यो।

काठमान्डुका बलरमध्ये युवा खेलाडी सन्तोष यादव सर्वाधिक सफल रहे। उनले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। सहान अराचिगेले दुई ओभरमा सात रन दिँदै दुई विकेट हात पारे। जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। कप्तान करण केसी, शाहब आलम र देव शाहले समान एक विकेट लिए।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै विराटनगरलाई सस्तोमै समेटेको काठमान्डुले ब्याटिङमा पनि प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको हो। यस जितसँगै काठमान्डुले प्रतियोगितामा आफ्नो दाबेदारी थप बलियो बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्