भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण गर्न सङ्घीय सरकार प्रतिबद्ध: मन्त्री तिमिल्सिना

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणका लागि सङ्घीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत हिजो आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री तिमिल्सिनाले बाढी प्रभावित नागरिकसम्म ढिलाइ नगरी प्रभावकारी रूपमा राहत पुर्‍याउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रभावित परिवारको अन्तिम सूची तयार गरी तत्काल राहत वितरण गर्न सम्बन्धित पालिकालाई आग्रह गर्नुभएको छ । राहत वितरणका क्रममा कुनै समस्या आएमा सङ्घीय सरकार स्थानीय तहसँगै रहेर सहजीकरण गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

सरकारले बाढी प्रभावित परिवारलाई अस्थायी बसोबासका लागि प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । चार जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।त्यस्तै, बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । एउटै परिवारका थप सदस्यको समेत मृत्यु भएको अवस्थामा प्रत्येक थप मृतकका लागि १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराइनेछ ।

यी निर्णय कार्यान्वयनका लागि आवश्यक बजेटसमेत उपलब्ध गराइसकिएको मन्त्री तिमिल्सिनाले जानकारी दिनुभएको छ । कुनै नीतिगत वा प्रक्रियागत समस्या देखिएमा त्यसको समाधानका लागि सङ्घीय सरकार सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । प्रभावित क्षेत्रमा थप बजेट आवश्यक परेमा सम्बन्धित निकायमार्फत तत्काल निकासा हुने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्