काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आह्वान गर्नुभएको छ। उहाँले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा यसअघि गरिएको लगानी विस्तार गर्न भारतीय लगानीकर्तालाई आग्रह गर्नुभएको हो। प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँ दिल्लीमा रहनुभएका अर्थमन्त्री वाग्लेले भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया-नेपाल बिजनेस राउन्डटेबल’लाई सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो।
अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण थप सहज र आकर्षक बनाउन सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिएको बताउनुभयो। लगानीसम्बन्धी कानुनी प्रक्रियालाई सरलीकृत गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि सरकार सक्रिय रहेको उहाँको भनाइ थियो। उहाँले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताको लगानी सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ता लैजाने प्रक्रियालाई सहज बनाउन सरकारले विशेष पहल गरिरहेको पनि स्पष्ट पार्नुभयो। नेपालमा लगानीका पर्याप्त सम्भावना रहेकाले भारतीय उद्योगी तथा व्यवसायीले उपलब्ध अवसरको उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो।
अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार उहाँले नेपालमा विशेषगरी सूचना प्रविधि, जलविद्युत् र पूर्वाधार विकासका क्षेत्रमा लगानी विस्तार गर्न भारतीय निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो। कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद तथा भारतीय उद्योग परिसङ्घ (सीआईआई) अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गर्नुभएको थियो।




