एनपीएल फाइनल: टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले बलिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि भइरहेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिडिरहेका छन् ।

फाइनल खेलका लागि लुम्बिनी लायन्सले आफ्नो प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिमले भने एक खेलाडी परिवर्तन गरेको छ । उसले फाबियन एलनको स्थानमा सैफ जैबलाई टोलीमा समावेश गरेको छ ।

लिग चरण र पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनी यसपटक पनि त्यही लय कायम राख्दै उपाधि रक्षा गर्ने लक्ष्यमा छ । अघिल्लो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको थियो ।

यता, सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनल खेल्दैछ । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग हारेको थियो । त्यसैले यसपटक उपाधि जित्दै लगातार दुई फाइनलमा भोगेको हारको शृङ्खला अन्त्य गर्ने अवसर सुदूरपश्चिमसँग छ ।

फाइनलअघि दुवै टोलीका कप्तानले उपाधि भिडन्तका लागि आफ्नो टोली तयार रहेको बताएका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अघिल्ला खेलबाट पाठ सिक्दै टोलीले राम्रो तयारी गरेको बताएका थिए । यस्तै, लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले तीन दिनको विश्रामपछि टोलीले प्रभावकारी अभ्यास गरेको र उपाधिका लागि उत्साहित रहेको बताएका थिए ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ–११ : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, सैफ जैब, आरिफ शेख, इशान पाण्डे, थारिन्दु रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दीपक बोहरा र जर्ज मुन्से ।

लुम्बिनी लायन्सको प्लेइङ–११ : रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दिलीप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट र अली शेख ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्