काठमाडौँ – बिचौलिया इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले अदालतबाट सात दिन म्याद थप भएको पुष्टि गर्नुभएको छ । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले गत असोज १४ गते सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
सापकोटामाथि अनुसन्धान गर्ने क्रममा महेश श्रेष्ठ र सुशील भट्टसँगको सम्बन्धसमेत खुलेपछि उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । तीनै जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।




