काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप-३१ लाई ‘हिमालको आवाज सुनिएको सम्मेलन’ बनाउन आग्रह गरेकी छन्।
टर्कीको आन्ताल्यामा जारी कोप-३१ को समापन मन्तव्यका क्रममा मन्त्री चौधरीले हिमालको महत्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म उत्तिकै रहेको बताउँदै जलवायु परिवर्तनसम्बन्धी छलफलमा पर्वतीय क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने धारणा राखेकी हुन्।
उनले ठूलो जनधनको क्षति पुर्याएको रसुवा-भोटेकोशी बाढीपछि पुनःस्थापनाका लागि आवश्यक पाँच अर्ब अमेरिकी डलर जुटाउन संघर्ष गर्नुपरेको उल्लेख गरिन्।
“यो केवल वित्तीय अभाव होइन, न्याय र समानताको अभाव हो,” उनले भनिन्, “नेपालका जनता हेरिरहेका छन्। रसुवा-भोटेकोशी बाढीमा आफ्ना प्रियजन गुमाएका ३४ देशका परिवारहरू हेरिरहेका छन्।”
मन्त्री चौधरीले जलवायु परिवर्तनका चुनौती सामना गर्न विज्ञानमा आधारित अध्ययन, बहुप्रकोप पूर्वसूचना प्रणालीको विकास तथा पर्याप्त जलवायु वित्तको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
जलवायु संकटबाट प्रभावित समुदायलाई न्याय र समानता सुनिश्चित गर्दै पुनःस्थापना तथा अनुकूलनका कार्यक्रम अघि बढाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।




