प्रधानमन्त्री बालेनको भारत भ्रमण: साढे २५ घण्टा बसाइ, तीन औपचारिक बैठकमा मात्रै सहभागी हुने

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा भारतमा साढे २५ घण्टा मात्रै रहने हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मङ्सिर ६ गते भारत जान लाग्नुभएका प्रधानमन्त्री शाह भ्रमणका क्रममा तीनवटा औपचारिक बैठकमा मात्रै सहभागी हुने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरमा वार्ता हुनेछ । यसबाहेक भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुहुनेछ ।

सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाहले मङ्सिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । नेपाली समयअनुसार दिउँसो करिब ३ बजे दिल्ली पुग्ने उहाँ त्यस दिन कुनै औपचारिक कार्यक्रममा सहभागी हुनुहुने छैन । उहाँ दिल्लीस्थित ताजमहल होटलमा बस्ने कार्यक्रम छ । सोही साँझ नेपाली राजदूतावास पुग्ने सम्भावना रहे पनि कार्यक्रम निश्चित भइसकेको छैन ।

मङ्सिर ७ गते प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति कार्यालयमा गार्ड अफ अनर प्रदान गरिनेछ । त्यसपछि उहाँले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गर्नुहुनेछ । सोही दिन भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै वार्ता हुनेछ । त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय बैठक बस्नेछ । उक्त बैठकमा दुई देशबीच विभिन्न विषयमा छलफल हुनुका साथै सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर र संयुक्त आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यद्यपि, सम्झौता हुने विषयको अन्तिम टुङ्गो भने लागिसकेको छैन ।

भ्रमणका क्रममा भारतले नेपाललाई महेन्द्रनगरबाट हवाई प्रवेश गर्न मिल्ने रुट उपलब्ध गराउने विषयमा सहमति गर्ने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण गर्दा भारतीय एयरस्पेस प्रयोग गर्न पाउने विषयमा पनि सकारात्मक छलफल भइरहेको बताइएको छ । नेपालले लामो समयदेखि महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरलगायत क्षेत्रबाट हवाई प्रवेशको अनुमति माग्दै आएको छ । यसले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भारतले महेन्द्रनगरबाट ३९ हजार फिटको उचाइमा जहाज प्रवेश गर्न पाउने गरी हवाई रुट उपलब्ध गराउन सकारात्मक देखिएको स्रोतको भनाइ छ । भैरहवा विमानस्थलबाट उडान तथा अवतरण गर्दा भारतीय एयरस्पेस प्रयोग गर्न दिने विषयमा पनि सहमति नजिक पुगेको बताइएको छ । यद्यपि, रक्सौल र बागडोग्रा क्षेत्रमा नेपालको एयरस्पेस प्रयोग गर्ने भारतको प्रस्तावमा भने सहमति भइसकेको छैन ।

त्यस्तै, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सञ्चालन गर्ने विषयमा पनि भ्रमणका क्रममा संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । साताको एकपटक यात्रा गर्ने गरी अयोध्या–जनकपुर रेल सञ्चालनका लागि भारतले अनुमति दिइसकेको स्रोतले जनाएको छ । नेपाल र भारतबीच रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, सीमापार पेट्रोलियम पाइपलाइन विस्तार तथा भारतका विभिन्न सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सञ्चालन गर्ने विषयमा पनि छलफल हुने सम्भावना छ । भ्रमणका क्रममा नेपालले भारतसँग दुई खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोगका लागि पनि पहल गरिरहेको छ । स्रोतका अनुसार एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अर्को एक खर्ब रुपैयाँ अनुदानका रूपमा उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताइएको छ ।

प्रस्तावित अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माणमा र अर्को ५० अर्ब रुपैयाँ बुटवल–पोखरा एक्सप्रेसवे निर्माणमा खर्च गर्ने नेपालको योजना रहेको छ । यद्यपि, यसबारे अन्तिम सहमति भइसकेको छैन । यसका अतिरिक्त पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो तामाकोशीसहित चिनियाँ ठेकेदार संलग्न आयोजनाबाट उत्पादित विद्युत् भारतले आयात गर्ने तथा बंगलादेशमा थप विद्युत् निर्यातका लागि सहजीकरण गर्ने विषय पनि नेपालको एजेन्डामा छन् । महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि टनकपुर बाँधबाट १० क्युसेक पानी उपलब्ध गराउने विषयमा पनि छलफल हुने बताइएको छ । लामो समयदेखि पानी उपलब्ध नहुँदा उक्त आयोजना सञ्चालनमा आउन सकेको छैन ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र पर्यटनमन्त्री खड्कराज पौडेललगायत सहभागी हुनेछन् । प्रधानमन्त्री शाह मङ्सिर ७ गते अपराह्न ४ः२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम छ । यसअघि तीन दिनको हुने भनिएको भ्रमण अन्ततः दुई दिनमा सीमित भएको हो । दिल्लीमा करिब साढे २५ घण्टा बिताएर प्रधानमन्त्री स्वदेश फर्कनुहुनेछ । नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताउनुभएको थियो । तर, त्यसपछि संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न उहाँ अमेरिका जानुभएको थियो । महासभालाई सम्बोधन गरेलगत्तै स्वदेश फर्किनुभएका प्रधानमन्त्रीले भारत भ्रमण पनि छोटो समयका लागि तय गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्