काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ ।
लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका यी टोलीबीचको खेल जित्ने टोलीले सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।
लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसरसमेत हो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको लुम्बिनीले यस संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो ।
ती दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनभित्रै समेटेको थियो । आजको खेलमा पनि जित निकाल्न सके लुम्बिनीले सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जितको ह्याट्रिक पूरा गर्नेछ ।
लिग चरणमा दुवै टोलीले समान पाँच खेलमा जित निकालेका छन् । सुदूरपश्चिमले दुई खेलमा पराजय बेहोर्दा लुम्बिनी भने एक खेलमा मात्रै पराजित भएको थियो । एक खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनीले एक अंक थप पाएको थियो । त्यसैले अंकतालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनी र दोस्रो स्थानको सुदूरपश्चिमबीचको पहिलो क्वालिफायर प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आजको विजेता टोलीले उपाधिका लागि फाइनल खेल्ने अवसर पाउनेछ ।





