काठमाडौं – निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र निर्वाचनसम्बन्धी विभिन्न विषयमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त छ दलका शीर्ष नेताहरूलाई बोलाएको छ। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग छलफल गर्न लागेको हो।
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनसम्बन्धी विषयमा राजनीतिक दलहरूको धारणा बुझ्न बैठक बोलाइएको बताउनुभयो। निर्वाचन आयुक्त गुरु प्रसाद वाग्लेले निर्वाचनको समय, प्रकार र तयारीबारे दलहरूसँग परामर्श गरिने जानकारी दिनुभयो।
स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल २०८४ जेठ ६ गते सकिँदैछ। कानुनी व्यवस्थाअनुसार कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले निर्वाचनको तयारी अघि बढाएको हो। निर्वाचन सम्पन्न गर्न करिब १२० दिन आवश्यक पर्ने भएकाले सरकारले समयमै निर्वाचनको मिति घोषणा गर्नुपर्ने आयोगको भनाइ छ।
बैठकमा स्थानीय र प्रदेश तहको निर्वाचन एकैपटक गर्न सकिने सम्भावना, विद्युतीय मतदान प्रणाली र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने विषयमा पनि छलफल हुनेछ। स्थानीय तहको निर्वाचनमा करिब ६ अर्ब र प्रदेश निर्वाचनमा ५ देखि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।




