काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आलोचनाको अधिकार लोकतन्त्रको आधार भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर गर्न नसकिने स्पष्ट पारेको छ।
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना तथा दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौंदेखि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ। राज्यको सीमित स्रोतसाधनका बीच निजी क्षेत्रले आफ्नै पुँजी, श्रम, जोखिम र जिम्मेवारी वहन गर्दै शिक्षा क्षेत्रमा लगानी गरिरहेको अवस्थामा केही व्यक्तिगत घटना वा पूर्वाग्रहपूर्ण टिप्पणीका आधारमा समग्र निजी शिक्षा क्षेत्रको योगदानलाई अवमूल्यन गर्नु न्यायोचित नहुने प्याब्सन महासचिव आरबी कटवालको भनाइ छ।
संस्था र नेतृत्वको सार्वजनिक प्रतिष्ठामा प्रहार गर्ने, समग्र क्षेत्रलाई दोषारोपण गर्ने तथा भ्रमपूर्ण धारणा फैलाउने प्रवृत्तिप्रति प्याब्सनले कडा आपत्ति जनाएको छ। सामाजिक सञ्जालमा व्यक्त गरिने अभिव्यक्तिहरू तथ्य, प्रमाण र व्यावसायिक मर्यादामा आधारित हुनुपर्नेमा समेत संस्थाले जोड दिएको छ। यद्यपि प्याब्सनले विद्यालय सञ्चालकहरू आफ्ना जिम्मेवारीबाट विमुख हुन नहुने स्पष्ट पारेको छ। शिक्षक तथा कर्मचारीको पारिश्रमिक, सेवासुविधा, पेशागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा विद्यालयहरू अझ जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
विद्यालयमा देखिएका जायज गुनासाहरूको निष्पक्ष सम्बोधन, कानुनको पूर्ण पालना र आवश्यक सुधार गर्नु सबैको साझा दायित्व भएको प्याब्सनले जनाएको छ। तर सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुको सट्टा सार्वजनिक अपमान र आरोप-प्रत्यारोपको माध्यम बनाउनु समस्या समाधानको जिम्मेवार बाटो नभएको महासचिव कटवालको धारणा छ।
विशेषगरी शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले आफ्ना अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादाको पालना गर्नुपर्ने प्याब्सनले जनाएको छ। असहमति राख्ने अधिकार सबैलाई भए पनि अरूको प्रतिष्ठा र संस्थागत सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई नभएको विज्ञप्तिमा उल्लेख छ।
कुनै विषयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायले निष्पक्ष छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने प्याब्सनको माग छ। तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्न संस्था दृढ रहने चेतावनीसमेत दिएको छ।
प्याब्सनले आफू संवाद, सुधार, सहकार्य र जिम्मेवार संस्थागत अभ्यासको पक्षमा रहेको स्पष्ट पार्दै निजी विद्यालयको योगदानको सम्मान, विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेशागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक विषय भएको अध्यक्ष अधिकारीको भनाई छ।
समग्र शिक्षा क्षेत्रको गरिमा, विश्वसनीयता र सम्मान कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै प्याब्सनले आलोचना तथ्यमा आधारित, अभिव्यक्ति मर्यादित र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित हुनुपर्नेमा जोड दिएको छ। २०८३ मंसिर ३ गते जारी विज्ञप्तिमार्फत प्याब्सनले निजी शिक्षा क्षेत्रका विषयमा उठ्ने प्रश्न र आलोचनालाई तथ्य तथा प्रमाणका आधारमा जिम्मेवार ढंगले प्रस्तुत गर्न सम्बन्धित सबै पक्षलाई महासचिव कटवालले आग्रह गर्नुभयो ।





