काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। ‘जनताको आवाज, पारदर्शिता र उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावसहित आयोजित कार्यक्रममा अस्पतालको सेवा प्रवाह, पूर्वाधार निर्माण तथा आगामी योजनाबारे नागरिकका गुनासा, सुझाव र जिज्ञासा प्रत्यक्ष रूपमा सुनिएको हो।
कार्यक्रममा अस्पतालमा निर्माणाधीन मोड्युलर अपरेसन थिएटर (ओटी), १०० शय्याको जनरल अस्पताल सञ्चालनका लागि भइरहेका प्रयास तथा हाल अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवाको प्रभावकारिताबारे नागरिकसँग छलफल गरिएको अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले जानकारी दिनुभयो।
सार्वजनिक सुनुवाइमार्फत अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या, नागरिकले स्वास्थ्य सेवा लिने क्रममा भोग्नुपरेका कठिनाइ, सेवाको गुणस्तर, पूर्वाधार विकास तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव संकलन गरिएको निर्देशक पौडेलले बताउनुभयो। नागरिकका सुझाव र गुनासालाई अस्पतालको सेवा सुधार तथा आगामी योजनामा समेट्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञ, बुद्धिजीवी, नगरवासी, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा अस्पतालसँग सरोकार राख्ने विभिन्न पक्षको सहभागिता रहेको थियो। सहभागीहरूले अस्पतालको सेवा प्रवाह र पूर्वाधार विकाससँग सम्बन्धित विषयमा आफ्ना धारणा, जिज्ञासा तथा सुझाव राखेका थिए।
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा विस्तारसँगै आवश्यक भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ। हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको छ। निर्माणाधीन मोड्युलर अपरेसन थिएटर र अस्पताल स्तरोन्नतिसम्बन्धी योजनाले आगामी दिनमा स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




