आज धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदै

 

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको स्मरणमा यो दिवस मनाउने परम्परा रहेको छ। वनजङ्गलमा पाइने जडीबुटीमा आधारित आयुर्वेद चिकित्सा पद्धतिको महत्व र योगदानलाई स्मरण गर्दै धन्वन्तरी जयन्ती मनाइने गरिन्छ।

आयुर्वेद क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीले आजको दिनलाई शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गरेका छन्। यस अवसरमा भगवान् धन्वन्तरीको पूजा, आराधना तथा विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरिन्छ।

काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि नेपालमा विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। तत्कालीन समयमा राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको उक्त क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण संस्थाका रूपमा सञ्चालनमा थियो।

२०२९ सालदेखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा सञ्चालन हुँदै आएको आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा रहेको छ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवका अनुसार आज धन्वन्तरीको पूजा तथा आराधनालगायत कार्यक्रम आयोजना गरिएका छन्।

आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो।

दिवसका अवसरमा सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरलगायत सरकारी तथा निजी क्षेत्रका आयुर्वेद संस्थाहरूमा विविध कार्यक्रम आयोजना गरिँदैछ।

यसैबीच, पछिल्लो समय नेपालमा आयुर्वेदिक औषधिको माग उल्लेख्य रूपमा बढेको छ। सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म वृद्धि भएको छ। समितिले उत्पादन गर्ने आयुर्वेदिक औषधिको मागसमेत अत्यधिक रहेको जनाएको छ।

धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवसले आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन र जनस्वास्थ्यमा यसको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्