स्थानीय तह निर्वाचनको तयारीमा जुटे राजनीतिक दल, उम्मेदवार छनोटको गृहकार्य सुरु

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा नगर्दै प्रमुख राजनीतिक दलहरू चुनावकेन्द्रित गतिविधिमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका दलले संगठन विस्तार, स्थानीय मुद्दाको पहिचान र उम्मेदवार छनोटको गृहकार्य अघि बढाएका छन् । सत्तारूढ रास्वपा पहिलोपटक स्थानीय तह निर्वाचनमा सहभागी हुँदैछ । पार्टीले ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । त्यस्तै, कांग्रेसले प्रत्यक्ष मतदानबाट उम्मेदवार चयन गर्ने तयारी गरेको छ भने एमालेले संगठन सुदृढीकरण र जनमतको अवस्थाको विश्लेषणलाई प्राथमिकता दिएको छ । नेकपाले राष्ट्रिय जागरण अभियानमार्फत वडा तहसम्म संगठन विस्तार र उम्मेदवार छनोटको गृहकार्य गरिरहेको छ ।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेको छ । पार्टी सभापति रवि लामिछानेले गत भदौ १ गते क्यान्डिडेट क्लब घोषणा गर्नुभएको थियो । उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति गठन गरिएको छ । रास्वपाले पालिका प्रमुख तथा उपप्रमुखका साथै महानगर र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदका लागि गत कात्तिक १५ गतेदेखि आवेदन खुला गरेको छ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट उत्साहजनक रूपमा निवेदन प्राप्त भइरहेको छ । उहाँले निर्वाचनको मिति घोषणा हुनेबित्तिकै उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

रास्वपाले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने कामसमेत सुरु गरेको छ । स्थानीय मुद्दालाई प्राथमिकतामा राखेर गृहकार्य भइरहेको प्रवक्ता खरेलको भनाइ छ । प्रतिनिधिसभामा बलियो उपस्थिति बनाएको रास्वपाका लागि स्थानीय तथा प्रदेश निर्वाचन राष्ट्रिय सभामा प्रतिनिधित्व विस्तार गर्ने दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । नेपाली कांग्रेसले पनि स्थानीय निर्वाचनको तयारीलाई तीव्रता दिएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले मतदाता नामावलीमा नाम समावेश गर्ने तथा स्थानीय तहका प्रमुख मुद्दाको पहिचान गर्ने काम भइरहेको बताउनुभएको छ । उहाँका अनुसार पार्टीले सबै पालिकामा केन्द्रीय प्रतिनिधि खटाएर स्थानीय आवश्यकता र उम्मेदवारबारे छलफल गर्नेछ ।

कांग्रेसले उम्मेदवार छनोटका लागि पार्टी सदस्यहरूको प्रत्यक्ष मतदान अर्थात् प्राइमरी प्रणाली अपनाउने तयारी गरेको छ । महामन्त्री पौडेलले स्थानीय निर्वाचनमा गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने पार्टीको नीति रहेको पनि स्पष्ट पार्नुभएको छ । नेकपा एमालेले पनि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी रणनीति निर्माणको काम अघि बढाएको छ । पार्टीले हालै काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरी स्थानीय निर्वाचनसम्बन्धी विशेष संकल्प पारित गरेको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार स्थानीय निर्वाचनको तयारीसम्बन्धी प्रतिवेदनसमेत पारित गरिएको छ । एमालेले प्रत्येक वडा कमिटीमार्फत आफ्नो क्षेत्रमा रहेका मतदाता, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन तथा प्रभावशाली व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने योजना बनाएको छ । साथै स्थानीय तहका मुद्दाको पहिचान गरी निर्वाचनमा पार्टीको अवस्था विश्लेषण गर्ने तयारी गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियानमार्फत वडा तहसम्म संगठन विस्तार, स्थानीय मुद्दामा जनतासँग छलफल तथा योग्य उम्मेदवार छनोटको गृहकार्य भइरहेको पार्टीका वरिष्ठ नेता वर्षमान पुनले बताउनुभएको छ । उहाँका अनुसार आगामी माघसम्म वडा तथा पालिका सम्मेलन सम्पन्न गर्ने तयारी छ । जनता समाजवादी पार्टी (जसपा) ले पनि स्थानीय निर्वाचनकेन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जसपा, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच अग्रगामी मोर्चामार्फत चुनावी सहकार्य गर्ने तयारी भइरहेको छ । यता, श्रम संस्कृति पार्टीले पनि स्थानीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न गतिविधि अघि बढाएको छ । पार्टी अध्यक्ष हर्क साङपाङ श्रमदान सभामार्फत जनतामाझ पुगिरहनुभएको छ । पार्टीका महासचिव तथा सांसद आरेन राईका अनुसार निर्वाचनलाई ध्यानमा राखेर विभिन्न भेला तथा भेटघाट कार्यक्रम सञ्चालन भइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने मंसिर २६, २७ र २९ गते राष्ट्रिय सम्मेलन सम्पन्न गरेपछि निर्वाचनको तयारी अघि बढाउने जनाएको छ । २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ पालिकामध्ये नेपाली कांग्रेसले ३२७, नेकपा एमालेले २०७, नेकपाले १४२, जनता समाजवादी पार्टीले ३०, लोकतान्त्रिक समाजवादी पार्टीले १६ तथा अन्य दल र स्वतन्त्र उम्मेदवारले ३१ स्थानमा जित हासिल गरेका थिए । यसपटकको स्थानीय निर्वाचनमा पुराना दलहरू आफ्नो जनाधार जोगाउने रणनीतिमा छन् भने रास्वपा पहिलोपटक स्थानीय सरकारमा प्रतिनिधित्व विस्तार गर्ने तयारीमा जुटेको छ । सरकारले निर्वाचनको मिति घोषणा गर्न बाँकी रहे पनि दलहरूको गतिविधिले स्थानीय तह निर्वाचनको राजनीतिक सरगर्मी बढ्न थालेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्