काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई अनुसन्धानका लागि म्याद थप गर्न शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सीआईबीका अनुसार अर्याललाई ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ।
प्रहरीका अनुसार उक्त प्रकरणमा ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।
उक्त रकम विदेश पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिएको तथा अन्य व्यक्तिलाई लाभ दिलाएको आरोप अर्यालमाथि लगाइएको छ।
सीआईबीले अर्याललाई पक्राउ गर्न मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो। विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अर्यालमाथि लगाइएका आरोप अनुसन्धानको क्रममा रहेका छन्। आरोप पुष्टि हुने वा नहुने विषय न्यायिक प्रक्रियाबाट निर्धारण हुनेछ।






