दीपक समीरको ‘आहत उजेलीहरू’ शिल्पी थिएटरमा आइतबार मञ्चन हुँदै

काठमाडौँ – सञ्चारकर्मी तथा साहित्यकार दीपक समीरको कथा ‘आहत उजेलीहरू’ नयाँ शैलीमा मञ्चन हुने भएको छ। रेडियोदेखि टेलिभिजनसम्मको यात्रामा कथावाचन तथा ‘स्टोरीटेलिङ’मा पहिचान बनाएका समीरको कथा वाचन, लाइभ संगीत र मौन अभिनयको त्रिकोणात्मक संयोजनमा प्रस्तुत गर्न लागिएको हो। कथाकार समीरको कथा सङ्ग्रह ‘मुनामदनको डिभोर्स पार्टी’ मा सङ्गृहित ‘आहत उजेलीहरू’ असोज १८ गते साँझ ५ बजे बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा प्रस्तुत गरिनेछ। वैदेशिक रोजगारीका कारण नेपाली समाजमा परेको प्रभाव र त्यसबाट सिर्जित पीडालाई कथाको विषयवस्तु बनाइएको समीरले बताएका छन्।

कार्यक्रममा लेखक समीरले स्वयं कथा वाचन गर्नेछन्। कला निर्देशक सुमन सागरजंग केसीको नेतृत्वमा कलाकारहरूले मञ्चमा मौन अभिनय प्रस्तुत गर्नेछन्। कथा वाचन र अभिनयलाई थप प्रभावकारी तथा जीवन्त बनाउन संगीतकर्मी विकल खड्काको नेतृत्वमा रहेको समूहले प्रत्यक्ष सङ्गीत प्रस्तुत गर्नेछ। कथा प्रस्तुतिका क्रममा गायिका सुनिता कार्कीको स्वरमा गीतसमेत प्रस्तुत गरिनेछ। कथा वाचन, मौन अभिनय, प्रत्यक्ष सङ्गीत र गीतको संयोजनमार्फत वैदेशिक रोजगारीले परिवार तथा समाजमा पार्ने भावनात्मक प्रभावलाई दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

‘कथालय’ नाम दिइएको उक्त कार्यक्रम ब्रोडिजी ग्रुपले आयोजना गर्न लागेको हो। पत्रकार विमल नेपालले कार्यक्रमको संयोजन गरेका छन् भने सञ्चारकर्मी भोजबहादुर विश्वकर्माले सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। कार्यक्रमका लागि अहिले तयारी तीव्र पारिएको विश्वकर्माले जानकारी दिए। समीरका अनुसार यसअघि कथालाई नाटकका रूपमा रूपान्तरण गरी मञ्चन गर्ने अभ्यास हुँदै आए पनि कथा वाचनसँगै लाइभ सङ्गीत र मौन अभिनयलाई एकै प्रस्तुतिमा जोड्ने प्रयास फरक शैलीको हुनेछ। ‘आहत उजेलीहरू’मार्फत वैदेशिक रोजगारीका क्रममा भोगिने पीडा, पारिवारिक विछोड र त्यसले नेपाली समाजमा पार्ने प्रभावलाई कलात्मक रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्