काठमाडौं- नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले आफ्नो सिनेमा हललाई अत्याधुनिक प्रविधि र सुविधासहित पुनर्निर्माण (रेनोभेसन) गरेको छ। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले प्रविधिको विकास र दर्शकको बढ्दो अपेक्षालाई मध्यनजर गर्दै दृश्य प्रविधि, ध्वनि प्रणाली, सिट तथा हलको समग्र वातावरणमा व्यापक सुधार गरेको हो। ‘Experience Cinema, Experience the Difference’ भन्ने मूल नारालाई सार्थक बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरका प्रविधि र सुविधा थपिएको कम्पनीले जनाएको छ। हलको भित्री वातावरणलाई पनि नयाँ स्वरूप दिइएको छ। नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्थासहित हलको समग्र संरचनामा सुधार गरिएको बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
नवीकरणपछि हलमा युरोपेली ब्रान्ड बार्को (Barco) को अत्याधुनिक SP4K-20C (Series 4) स्मार्ट लेजर प्रोजेक्टर जडान गरिएको छ। २१ हजार लुमेन्स ब्राइटनेस र 4K (4096×2160) नेटिभ रिजोलुसन क्षमताको उक्त प्रोजेक्टरले चलचित्रका दृश्यलाई थप स्पष्ट, चम्किलो र जीवन्त बनाउने कम्पनीको दाबी छ। त्यस्तै, चलचित्रमा प्राकृतिक र उच्च गुणस्तरको रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी Rec. 2020 तथा DCI-P3 कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ। हलमा १९×४३ फिट, २०×४३ फिट र २०×४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन्। ध्वनि प्रणालीतर्फ ६४ च्यानल क्षमताको Dolby Atmos थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ। प्रत्येक स्पिकरलाई स्वतन्त्र अडियो फिड उपलब्ध गराउने यो प्रविधिले चलचित्रको ध्वनिलाई वास्तविक अनुभूत गराउने कम्पनीले जनाएको छ।
हलको माथिल्लो भाग र चारैतिर जडान गरिएका स्पिकर तथा CP (5) A साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म साउन्ड अब्जेक्ट नियन्त्रण गर्न सकिनेछ। यसबाट विशेषगरी एक्सन तथा ध्वनिप्रधान चलचित्र हेर्दा दर्शकले थप रोमाञ्चक अनुभव लिन सक्नेछन्। दर्शकको आरामलाई ध्यानमा राख्दै हलमा २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी राखिएका छन्। एडभान्स एर्गोनोमिक डिजाइन, गुणस्तरीय ल्यामिनेटेड फेब्रिक र तीन पोजिसन लकिङ सुविधासहितका यी कुर्सीले आरामदायी अनुभव प्रदान गर्नेछन्। त्यसैगरी, थप विलासी अनुभव चाहने दर्शकका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनर सिटसमेत जडान गरिएको छ।
‘नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक नवीकरणमार्फत पुनः प्रमाणित गरेको छ। अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन, यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ,’ अध्यक्ष अर्यालले भन्नुभयो। अध्यक्ष अर्यालका अनुसार नवीकरणपछि दर्शकले उत्कृष्ट दृश्य, ध्वनि, आरामदायी सिट र समग्र सिनेमा अनुभव प्राप्त गर्नेछन्। बिग मुभिजको यो नवीकरणसँगै नेपाली दर्शकले काठमाडौंमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सुविधासहित चलचित्र हेर्ने नयाँ अनुभव लिन पाउने कम्पनीको विश्वास छ।




