जापान पुगेर पनि आफ्नै भाषा र संस्कृतिको खोजीमा अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

काठमाडौं  – पछिल्लो पुस्ताका युवाहरू आधुनिकता र विदेशी संस्कृतितर्फ आकर्षित भइरहेका बेला बैतडीका युवा अमृत नाथ भने आफ्नो मौलिक भाषा, संस्कृति, रीतिरिवाज र देउडा भाकाको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय देखिएका छन्।

पढाइको सिलसिलामा हाल जापानमा रहेका नाथले विदेशमा पुगेपछि पनि आफ्नो स्थानीय भाषा, मौलिक संस्कृति र संगीतलाई निरन्तरता दिइरहेका छन्। नेपालदेखि हजारौँ किलोमिटर टाढा जापानमा रहेर पनि उनले आफ्नै स्थानीय भाषामा गीत तथा हास्य सामग्री निर्माण गर्दै आएका छन्।

स्थानीय भाषा विस्तारै प्रयोगबाट हराउँदै गएको र नयाँ पुस्ताका कतिपय युवाहरूले आफ्नै मातृभाषा बोल्नसमेत हिचकिचाउने अवस्था देखिएको भन्दै नाथले भने आफ्नो भाषालाई गर्वका साथ प्रयोग गर्ने अभियानलाई निरन्तरता दिएका छन्। उनी जुनसुकै ठाउँमा पुगे पनि आफ्नै स्थानीय भाषाबाट कुराकानी सुरु गर्न रुचाउँछन्।

नाथले स्थानीय भाषामा आधारित विभिन्न हास्य कार्यक्रमका भिडियोसमेत सार्वजनिक गरिसकेका छन्। साथै, मौलिक देउडा भाकामा आधारित थुप्रै गीत रेकर्ड गराएर स्थानीय भाषा तथा संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिरहेका छन्।

जापान पुगेपछि पनि उनको संगीत यात्रा रोकिएको छैन। बरु विदेशलाई नै आफ्नो भाषा र संस्कृतिको प्रचार गर्ने अवसरका रूपमा प्रयोग गर्दै आएका छन्। जापानमा विभिन्न देशका नागरिकसँग भेट हुँदा उनले आफ्नो स्थानीय भाषा, गीत, संगीत र संस्कृतिबारे जानकारी गराउने गरेका छन्। कतिपय विदेशीलाई स्थानीय भाषाका शब्दसमेत सिकाउने गरेको उनी बताउँछन्।

यसै क्रममा नाथले पछिल्लो समय ‘लाई दे माया गैला किसिम को’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गायिका ईब्सल सन्ज्यालसँग स्वरमा सहकार्य गरेका छन् ।  मौलिक स्थानीय भाषामा तयार गरिएको उक्त गीतमार्फत उनले आफ्नो क्षेत्रको भाषा, भाका र सांस्कृतिक पहिचानलाई फराकिलो दर्शक तथा श्रोतामाझ पुर्‍याउने प्रयास गरेका छन्।

विदेशमा बसेर विदेशी भाषा र संस्कृतिको बीचमा पनि आफ्नै भाषा बोल्ने, आफ्नै भाका गाउने र आफ्नै संस्कृति चिनाउने नाथको प्रयासलाई नयाँ पुस्ताका लागि प्रेरणादायी मानिएको छ।

‘भाषा बचाउन ठूलो पद वा संस्था आवश्यक पर्दैन, आफ्नो भाषाप्रतिको माया र त्यसलाई निरन्तर प्रयोग गर्ने साहस भए पुग्छ’ भन्ने सन्देश नाथको गतिविधिले दिएको छ।

बैतडीबाट सुरु भएको उनको भाषा तथा संस्कृति संरक्षणको अभियान अहिले जापानसम्म पुगेको छ। आफ्नो माटो र पहिचानलाई विदेशमा समेत चिनाउँदै आएका नाथले स्थानीय भाषा र संस्कृतिलाई विश्वसामु पुर्‍याउने प्रयास गरिरहेका छन्।

उनको नयाँ गीत ‘लाई दे माया गैला किसिम को’ लाई दर्शक तथा श्रोताले माया र साथ दिनुपर्ने तथा सामाजिक सञ्जालमार्फत गीतको प्रचारप्रसार गर्नुपर्ने उनका शुभेच्छुकहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्