सुदूरपश्चिमको लोकविश्वास, प्रेम र नारी अस्तित्वको कथा, हेर्नैपर्ने नाटक ‘श्री बिज्जो भूत’

काठमाडौँ – मण्डला थिएटरमा अहिले प्रदर्शन भइरहेको नाटक ‘श्री बिज्जो भूत’ हेर्न थापागाउँ पुगेपछि काठमाडौंमै बसेर पनि सुदूरपश्चिमको पुगेको अनुभूति हुन्छ त्यसमा पनि खासगरी डडेल्धुराको निङ्लाड गाउँमै पुगेको आभास हुनेछ । स्थानीय लवज, देउडाको भाका, गौरा फागका धुन र पात्रहरूको बोलीचालीले दर्शकलाई नाटकको कथा मात्र सुनाउँदैन, सुदूरपश्चिमको एउटा भूगोल, समाज र संस्कृतिको प्रत्यक्ष अनुभूति गराउँछ । करिब ८० मिनेट लामो यो नाटक प्रेम, प्रतीक्षा, पारिवारिक विछोड, वैदेशिक रोजगारी, लोकविश्वास र नारी अस्तित्वका प्रश्नलाई एउटै कथामा जोड्दै अघि बढ्छ । गम्भीर विषयवस्तु हुँदाहुँदै पनि स्थानीय लवज र आञ्चलिक हास्यका कारण नाटक कतै पनि बोझिलो लाग्दैन ।

नाटक हेर्नुअघि यसको कथावस्तु वा पात्रबारे खासै जानकारी नभए पनि मण्डला थिएटरको मञ्चमा प्रवेश गरेपछि दर्शकलाई विस्तारै कथा आफैंले तान्दै लैजान्छ । सुदूरपश्चिमको गाउँले परिवेश, त्यहाँको भाषा र सांस्कृतिक प्रस्तुति यति स्वाभाविक ढंगले मञ्चमा आएको छ कि केही समयका लागि काठमाडौंको रंगमञ्चमा नभई मध्यसुदूरपश्चिमकै कुनै गाउँमा पुगेजस्तो अनुभूति हुन्छ । विशेषगरी स्थानीय संवाद, देउडा र गौरा फागका धुनले नाटकको वातावरणलाई जीवन्त बनाएका छन् ।

वास्तविक नाम सुस्मिता कुँवर भएपनि नाटकमा गौरीको भूमिका रहेकी छिन् । उहीँ गौरीको दृष्टिकोणबाट नाटकको कथा अगाडि बढ्छ । गाउँको अभावमा हुर्किएकी गौरी बीस वर्षदेखि बेपत्ता रहेका बुबा फर्किने प्रतीक्षामा छे । उसको संसारमा वृद्ध हुँदै गएकी आमा र पाँच वर्षदेखि पल्टनमा रहेका प्रेमी धिरु छन् । घरधन्दा र गाउँको सामान्य जीवनमै दिन बिताइरहेकी गौरीको जीवनमा एक दिन हरि नाम गरेका व्यक्ति बम्बईमा उसका बुबा भेटिएको खबर लिएर आइपुग्छन् । वर्षौंदेखि हराएको बुबालाई भेट्ने तीव्र इच्छाले गौरीलाई आमासँग सल्लाहसमेत नगरी हरिसँगै बम्बई जाने निर्णयसम्म पुर्‍याउँछ ।

तर हरिले भनेको कुरा सत्य हो कि छल ? बम्बईमा गौरीका बुबा साँच्चै छन् कि छैनन् ? यी प्रश्नले कथालाई रहस्यमय बनाउँदै लैजान्छन् । अर्कोतर्फ गौरीका लागि विवाहको प्रस्ताव र घरजमको चर्चा चलिरहेको हुन्छ, तर उसको मन भने पाँच वर्षदेखि पल्टनमा रहेका प्रेमी धिरुको प्रतीक्षामा हुन्छ । यसरी गौरीको व्यक्तिगत जीवन, प्रेम, परिवार र वर्षौंदेखिको प्रतीक्षा एकअर्कासँग गाँसिँदै कथा अगाडि बढ्छ ।

‘श्री बिज्जो भूत’को विशेषता भने गौरीले बुबा भेट्छे कि भेट्दिन भन्ने प्रश्नमा मात्र सीमित हुँदैन । कथाको मूल शक्ति गौरीले आफ्नो जीवन, आफ्नो निर्णय र अन्ततः आफ्नो अस्तित्वलाई कसरी बुझ्दै जान्छे भन्ने यात्रामा छ । सुरुवातमा सरल, अबोध र भावुक देखिने गौरी बुबा भेटिएको खबरप्रति यति विश्वास गर्छे कि हरिको कुरामा धेरै प्रश्नसमेत गर्दिन । तर कथा अघि बढ्दै जाँदा उसको यही विश्वासमाथि चोट पर्न थाल्छ र ऊ आफ्नो निर्णय आफैं गर्नुपर्ने अवस्थामा पुग्छे ।

नाटकको अर्को महत्वपूर्ण पक्ष ‘बिज्जो भूत’सँग जोडिएको स्थानीय लोकविश्वास हो । डडेल्धुराको निङ्लाड क्षेत्रमा प्रचलित विश्वासमा बिज्जो भूतलाई मानिसलाई हानि पुर्‍याउने डर लाग्दो भूतका रूपमा मात्र नभई सत्य, न्याय र संरक्षणसँग जोडिएको शक्तिका रूपमा लिइन्छ । जंगल वा यात्राका क्रममा बिज्जो भूतलाई सम्मान गर्ने, ढोग्ने तथा जप गर्दा सत्य र सदाचारको बाटोमा हिँड्ने मानिसको रक्षा हुने जनविश्वास कथासँग जोडिएको छ । कपट, असत्य वा खराब कर्म गर्नेहरू त्यसको क्षेत्रबाट उम्कन नसक्ने विश्वासलाई पनि नाटकले कथाको महत्वपूर्ण सांस्कृतिक आधार बनाएको छ ।

नाटकले यो लोकविश्वासलाई केवल रहस्य वा डर सिर्जना गर्ने माध्यम बनाएको छैन । बरु ‘बिज्जो भूत’लाई सत्य र असत्य, विश्वास र छल, अपराध र निर्दोषता तथा पुरुषसत्तात्मक सोच र स्त्रीको आत्मसम्मानबीचको द्वन्द्वको सांस्कृतिक प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । यसैले ‘श्री बिज्जो भूत’लाई केवल सुदूरपश्चिमको लोककथामा आधारित नाटकका रूपमा मात्र हेर्न मिल्दैन । स्थानीय मिथकको आधारमा समकालीन नेपाली समाजका गम्भीर प्रश्न उठाउनु यसको महत्वपूर्ण पक्ष बनेको छ ।

नाटकले सुदूरपश्चिममा लामो समयदेखि रहेको वैदेशिक रोजगारीको प्रभावलाई पनि कथाको पृष्ठभूमिमा जोडेको छ । घरका पुरुषहरू रोजगारीका लागि भारत वा अन्य मुलुक जाने, घरमा वृद्ध अभिभावक र महिलामाथि जिम्मेवारी थपिँदै जाने तथा वर्षौंसम्म परिवारका सदस्यको कुनै खबर नआउने अवस्था कथाका पात्रमार्फत प्रस्तुत गरिएको छ । गौरीका बुबाको बीस वर्ष लामो अनुपस्थिति र धिरुको पाँच वर्षको पल्टन बसाइँले परिवारमा पुरुषको अनुपस्थितिले पार्ने मनोवैज्ञानिक र सामाजिक प्रभावलाई फरकफरक तहमा देखाउँछ ।

कथामा हरिको वास्तविकता बाहिर आउँदै गएपछि गौरीले अर्को पुरुष पात्र धिरुबाट पनि अपेक्षित साथ पाउँदिन । बरु धिरुले नै गौरीको निष्ठा र पवित्रतामाथि प्रश्न उठाउँछ । यही बिन्दुबाट गौरीको चरित्रमा निर्णायक परिवर्तन आउँछ । वर्षौंसम्म घरबाट टाढा रहने पुरुषलाई समाजले सहजै विश्वास गर्ने तर उसलाई कुरेर बस्ने महिलाले भने आफ्नो निष्ठा निरन्तर प्रमाणित गरिरहनुपर्ने दोहोरो सामाजिक मापदण्डलाई नाटकले प्रश्न गरेको छ ।

गौरीले अन्ततः हरि र धिरु दुवैलाई अस्वीकार गर्ने निर्णय लिन्छे । यो निर्णय केवल दुई पुरुष पात्रलाई अस्वीकार गर्ने व्यक्तिगत निर्णयका रूपमा मात्र प्रस्तुत हुँदैन, आफ्नो जीवन र अस्तित्वमाथि आफैंको अधिकार स्थापित गर्ने यात्राका रूपमा विकसित हुन्छ । यही कारण गौरीको चरित्र यात्रा नाटकको सबैभन्दा बलियो वैचारिक पक्षमध्ये एक बनेको छ । नाटक गम्भीर विषयमा आधारित भए पनि निर्देशक आकाश नेपाली र बुद्धि तामाङले प्रस्तुति एकोहोरो भावुक हुन दिएका छैनन् । सुदूरपश्चिमको स्थानीय लवज र आञ्चलिक हास्यलाई कथाभित्र स्वाभाविक रूपमा मिसाइएको छ । सरकारी जागिरको अहंकार देखाउने टेके र काकीबीचको नोकझोक, जडीबुटी तथा सिलाजीत बेच्ने भगतसिंह धानीको रमाइलो बोलीचाली तथा यात्राका क्रममा आउने हास्यप्रद प्रसङ्गले दर्शकलाई पटकपटक हँसाउँछन् ।

एकातिर दर्शक हाँसिरहेका हुन्छन् भने अर्कोतिर त्यही कथाले समाजका गम्भीर यथार्थमाथि प्रश्न उठाइरहेको हुन्छ । यही भावनात्मक र हास्यात्मक सन्तुलन नाटकको प्रस्तुतीगत विशेषता बनेको छ । बीचबीचमा आउने हरिना नाथको स्वरका तरंग, कहिले ठाडी भाका त कहिले भावुक गीतले नाटकको भावनात्मक प्रभाव अझ बलियो बनाउँछन् । संगीत र गीतले कथा अगाडि बढाउने माध्यमका रूपमा समेत काम गरेका छन् ।

नाटकको सांस्कृतिक पक्ष झनै उल्लेखनीय छ । स्थानीय भाषा, लवज, देउडा, गौरा फाग र पात्रहरूको जीवनशैलीलाई मञ्चमा उतार्दा सुदूरपश्चिमको एउटा भूगोलको कथा काठमाडौंमा ल्याएर देखाइएको मात्र छैन, दर्शकलाई त्यही भूगोलको अनुभव गराउने प्रयास गरिएको छ । प्रविधि र मोबाइल फोन सहज नभएको समयको परिवेशले अहिलेको पुस्ताका लागि फरक संसारको अनुभूति गराउन सक्छ भने सुदूरपश्चिमको परिवेशमा हुर्किएका दर्शकका लागि यसले पुराना स्मृति पनि जगाउन सक्छ ।

पात्रहरूको अभिनय पनि नाटकको अर्को बलियो पक्ष हो । स्थानीय लवजलाई संवादमा उतार्दा पात्रहरू कृत्रिमभन्दा बढी स्वाभाविक देखिन्छन् । प्रेम, प्रतीक्षा, अभाव, छल, हास्य, लोकविश्वास र सामाजिक यथार्थलाई एउटै कथाभित्र जोड्न खोजिएको छ । यसले नाटकलाई केवल मनोरञ्जनमा सीमित नराखी दर्शकलाई कथा सकिएपछि पनि केही प्रश्नसँगै फर्काउने बनाएको छ । ‘श्री बिज्जो भूत’को वास्तविक ‘भूत’ कुनै अदृश्य शक्तिमा मात्र खोजिँदैन । नाटकले असत्य, छल, पितृसत्तात्मक सोच र महिलामाथि थोपर्ने दोहोरो मापदण्डलाई नै मानिसको जीवनमा डर र पीडा सिर्जना गर्ने वास्तविक शक्तिका रूपमा देखाउँछ । बिज्जो भूतको लोकविश्वासले सत्यको पक्षमा उभिने सांस्कृतिक प्रतीकको भूमिका निर्वाह गर्छ भने गौरी त्यसै सत्य र आत्मसम्मानको खोजीमा अघि बढ्ने पात्रका रूपमा स्थापित हुन्छे ।

सुदूरपश्चिमको स्थानीय स्वाद, लोकमिथक, देउडागौरा संस्कृति र समकालीन सामाजिक प्रश्नलाई एउटै मञ्चमा जोडिएको ‘श्री बिज्जो भूत’ एउटा आञ्चलिक कथा भएर सुरु हुन्छ तर अन्त्यसम्म आइपुग्दा व्यापक नेपाली समाजको कथा बन्न पुग्छ । प्रेम र प्रतीक्षाको कथा हेर्न चाहने दर्शकले यहाँ सम्बन्धको प्रश्न भेट्छन्, सुदूरपश्चिमको संस्कृति बुझ्न चाहनेले मौलिक सांस्कृतिक स्वाद भेट्छन् र समाजमा महिलाको स्थानबारे सोच्न चाहनेले गौरीको यात्रामार्फत अनेक प्रश्न पाउँछन् । त्यसैले ‘श्री बिज्जो भूत’ केवल सुदूरपश्चिमको कथा हेर्न जाने नाटक होइन, कथा, संस्कृति, संगीत, हास्य र सामाजिक प्रश्नलाई एउटै मञ्चमा अनुभव गर्न चाहने दर्शकले हेर्नैपर्ने नाटकका रूपमा लिन सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्