काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले दक्षिण एसियाली लेखापाल महासंघ (साफा) बाट लगातार दोस्रो वर्ष ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको छ । बैंकले सार्वजनिक क्षेत्रका बैंकतर्फ ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स एन्ड कर्पोरेट गभर्नेन्स डिस्क्लोजर’ विधामा उक्त सम्मान प्राप्त गरेको हो ।
बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनमा देखाएको कार्यसम्पादनको कदर गर्दै साफाले उक्त अवार्ड प्रदान गरेको हो । नोभेम्बर २८ मा बंगलादेशको ढाकामा आयोजित विशेष समारोहमा बैंकलाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
कृषि विकास बैंकले गत वर्ष पनि साफाबाट यही अवार्ड प्राप्त गरेको थियो । लगातार दोस्रो वर्ष सम्मानित हुनुले बैंकको वित्तीय प्रतिवेदन, पारदर्शिता र संस्थागत सुशासनसम्बन्धी अभ्यासलाई क्षेत्रीय स्तरमा मान्यता मिलेको बैंकले जनाएको छ । दक्षिण एसियाली लेखापाल महासंघ (साफा) अन्तर्राष्ट्रिय लेखापाल महासंघ (आईएफएसी) को क्षेत्रीय सञ्जाल साझेदार संस्था हो । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानसहित दक्षिण एसियाली मुलुकका ११ वटा चार्टर्ड एकाउन्टेन्सी संस्था आबद्ध छन् ।
साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रका विभिन्न संस्थाले प्रकाशित गरेका वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट संस्थालाई विभिन्न विधामा सम्मान प्रदान गर्दै आएको छ ।







