बैठकले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा तथा रूख चुनाव चिह्नको अनधिकृत प्रयोग नगर्न र नगराउन आग्रह गरेको छ । यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्याउनुका साथै नागरिक, पार्टी सदस्य तथा शुभेच्छुकमा भ्रम सिर्जना गरेको कांग्रेसको निष्कर्ष छ । पार्टीको आग्रह र अपिल अटेर गरी अनधिकृत गतिविधि सञ्चालन गर्ने तथा सामाजिक सञ्जाललगायत माध्यमबाट भ्रामक प्रचार गर्ने व्यक्ति वा समूहविरुद्ध पार्टी विधान र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पौडेलले जानकारी दिनुभयो ।
बैठकले यसअघि सार्वजनिक गरिएको ‘हामी तयार छौँ’ अभियान तथा अवधारणालाई पनि स्वीकृत गरेको छ । अभियानको पूर्ण अवधारणा र मापदण्ड भने पछि सार्वजनिक गरिने उहाँले बताउनुभयो । त्यस्तै, लामो समयसम्म कार्यक्रम सञ्चालन हुने, धेरै व्यक्तिलाई आसनग्रहण गराउने र वक्ताहरूको संख्या बढी हुनेजस्ता समस्या सम्बोधन गर्न ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३’ परिमार्जनसहित पारित गरिएको छ ।
महामन्त्री पौडेलले नेपाली कांग्रेस निर्वाचन आयोगमा दर्ता भएको आधिकारिक राजनीतिक दल भएको उल्लेख गर्दै २०८३ असोज १६ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ नियमित महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको जानकारी दिनुभयो । उक्त कार्यसमितिको विवरण तथा विधान संशोधन निर्वाचन आयोगबाट मङ्सिर ८ गते अद्यावधिक भइसकेको उहाँले बताउनुभयो । यसैगरी बैठकले कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिलगायत केही समिति गठन गर्ने अधिकार सभापतिलाई प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ ।






