मुग्लिन-नारायणगढ सडकखण्ड भोलिदेखि दैनिक पाँच घण्टा सडक बन्द हुने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलिदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।

यसअघि केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पुनः पहिरो रोकथामको काम अघि बढाउन लागिएको हो। कामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

तर, काठमाडौँ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा आवतजावत गर्ने सवारीसाधनको आवागमन भने प्रभावित नहुने प्रशासनले स्पष्ट पारेको छ। प्रशासनले यात्रु तथा चालकलाई निर्धारित समयतालिका अनुसार यात्रा गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्