कास्कीको सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी हाल दूधको गुणस्तरअनुसार किसानले प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्रै पाउँदै आएको जनाएको छ । उक्त मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल दिन नसकेको सहकारीको भनाइ छ । सहकारीका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर तथा निजी फार्म र डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषय भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उहाँले बताउनुभयो ।
दूधको मूल्य समायोजन गरी किसानलाई उचित मूल्य उपलब्ध गराउन केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले पनि लामो समयदेखि सरकारसँग माग गर्दै आएको छ । किसानले उत्पादन लागतसमेत उठाउन नसक्ने अवस्था र उपभोक्ताले भने महँगो मूल्य तिर्नुपर्ने परिस्थितिको अन्त्य गर्न मूल्य निर्धारण प्रणालीमा सुधार गर्नुपर्ने माग गरिएको छ ।






