दैलेखको पेट्रोलियम तथा मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिने रवि लामिछानेको प्रतिबद्धता

दैलेख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका-१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभएको छ । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुग्नुभएका लामिछानेले खानीको वर्तमान अवस्था र रोकिएको प्राविधिक कामबारे जानकारी लिनुभएको हो ।

अवलोकनका क्रममा उहाँले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङको काम पूरा भए पनि पछिल्लो एक वर्षदेखि परीक्षण प्रक्रिया रोकिएको र करोडौँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति चासो व्यक्त गर्नुभयो । पहिलोपटक खानीको स्थलगत अवस्था अवलोकन गरेको उल्लेख गर्दै लामिछानेले व्यावसायिक उत्पादनको आवश्यकता भए पनि तत्काल महँगा उपकरणको संरक्षण गर्नुपर्ने बताउनुभयो । प्राविधिक काम कहाँ र किन रोकिएको हो भन्ने विषयमा थप अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

लामिछानेले लामो समयदेखि रोकिएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञहरूसँग परामर्श गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको छ । उक्त परिमाणले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने भएकाले यो आयोजना राष्ट्रिय महत्त्वको रहेको उहाँले बताउनुभयो । नेपाल र चीनबीच भएको समझदारीअनुसार २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता गरी ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको थियो ।

खानीको उत्खनन कार्यलाई पूर्णता दिन विस्तृत अध्ययनसहित आवश्यक पहल गर्ने उल्लेख गर्दै लामिछानेले यसबाट कर्णालीको आर्थिक तथा विकास गतिविधिमा सकारात्मक योगदान पुग्ने बताउनुभयो । यसअघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले लामिछानेलाई परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्