काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गीतकार देवी पराजुलीको शब्द रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ। गायिका जुनु प्रसाईको सुमधुर स्वरमा सजिएको उक्त गीतले तीज पर्वको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। गीतमा देवी पराजुलीको शब्द रहेको छ भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कमल अधिकारीले गरेका छन्। परम्परागत तीजको भावनालाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरिएको गीतमा संगीत र शब्दको सुन्दर संयोजन रहेको निर्माण पक्षले जनाएको छ।
गीतको भिडियो दीपक पन्तको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको हो। भिडियोमा रुपा बुढा र पवन खतिवडा मुख्य भूमिकामा देखिएका छन् भने स्थानीय कलाकारहरूको समेत आकर्षक अभिनय समावेश गरिएको छ। वल्ड कभर मिडियाको पोस्ट–प्रोडक्सनमा तयार गरिएको भिडियोको छायांकन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन्। सम्पादन तथा कलर ग्रेडिङको जिम्मेवारी पनि उनले नै सम्हालेका छन्। भिडियोको छायांकन बुढानिलकण्ठस्थित राधाकृष्ण मन्दिर (ISKCON) परिसरमा गरिएको छ, जहाँका मनमोहक दृश्यहरूले गीतलाई थप आकर्षक बनाएका छन्।
गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। गीतकार देवी पराजुलीका यसअघि ‘माइत रमाइलो’, ‘लगनको सारी’ र ‘कसो गरौं मैले’ लगायतका तीज गीतहरू सार्वजनिक भइसकेका छन्। उनका यी तथा अन्य सिर्जनाहरू Devi Parajuli युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिन्छ। पेसाले निजामती कर्मचारी रहेकी पराजुलीले फुर्सदका समयमा गीत–संगीत सिर्जनामा सक्रियता देखाउँदै आएकी छन्। उनले नेपाली लोक तथा तीज गीतमार्फत सांगीतिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी छन्। नयाँ तीज गीतले पनि संगीतप्रेमीको मन जित्ने विश्वास व्यक्त गरिएको छ।



