काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा बिहीबार अस्वाभाविक वृद्धि भएको छ। एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि मंगलबार २ लाख ७५ हजार रुपैयाँ कायम रहेको सुनको मूल्य लगातार वृद्धि हुँदै आएको छ।
यसैगरी चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरूको भनाइ छ। पछिल्लो मूल्यवृद्धिले सुनचाँदी खरिद गर्ने उपभोक्तालाई थप आर्थिक भार पर्ने देखिएको छ।




