काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरूको छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा मेयर सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दामा वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राना, शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोककी रीता भट्टराईलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार नागरिकता प्राप्तिका लागि आवश्यक कागजात र विवरणमा अनियमितता गरी सरकारी अभिलेखमा गलत सूचना प्रविष्ट गरिएको आरोपमा उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा चलाइएको हो।
यसअघि मेयर सिंह लिखत किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका थिए। अदालतले गत साता उनलाई धरौटीमा रिहा गरेको थियो। नागरिकता प्रकरणको छानबिनका क्रममा गठित समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत परशुराम पोखरेललाई पनि अख्तियारले मुद्दाको दायरामा ल्याएको छ। गत साता पक्राउ परी धरौटीमा छुटेका मेयर सिंहमाथि अहिले भ्रष्टाचारसम्बन्धी मुद्दासमेत दायर भएपछि प्रकरणले नयाँ मोड लिएको छ। भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा खेप्ने उनी वीरगञ्ज महानगरपालिकाका पहिलो मेयर बनेका छन्। अख्तियारले दायर गरेको मुद्दामाथि अब विशेष अदालतमा सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।






