विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

 

काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक पुनः सञ्चालन हुन नसकेपछि भोलिसम्मका लागि स्थगित गरिएको छ।

विपक्षी सांसदहरूको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर निर्धारित समयपछि पनि सहमति जुट्न नसकेकाले संसद् सचिवालयले सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित गरेको हो।

गएको फागुन २१ गतेको निर्वाचनपछि गठन भएको वर्तमान प्रतिनिधिसभामा पहिलोपटक सूचना टाँसेर बैठक स्थगित गरिएको जनाइएको छ।

आजको बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले दलीय आधारमा धारणा राख्न समय दिएपछि विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म सदन सञ्चालन हुन नसक्ने अडान दोहोर्‍याएका थिए।

प्रधानमन्त्री शाहले संसद्मा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको तथ्यगत आधार माग्दै विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहे पनि हालसम्म सहमति जुट्न सकेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्