सुदूरपश्चिममा कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त, विक्रम धामी आर्थिक मामिला मन्त्री

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसको कोटाबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमध्ये विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री, मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा बेलबहादुर रानामगर सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ।

त्यसैगरी जुना दानी आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारती सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ। मन्त्रिपरिषद् पुनर्गठनसँगै आर्थिक मामिला मन्त्री बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मेघराज खड्का तथा सामाजिक विकास मन्त्री शिवराज भट्ट पदमुक्त हुनुभएको छ। यस्तै राज्यमन्त्रीद्वय सरस्वती खड्का र प्रकाश बम पनि सरकारबाट बाहिरिनुभएको छ।

प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम केही समयपछि आयोजना हुने जनाइएको छ। कांग्रेसभित्र लामो समयदेखि चलिरहेको शक्ति सन्तुलन, समूहगत व्यवस्थापन तथा सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ। मन्त्री हेरफेरलाई आगामी बजेट कार्यान्वयन, विकास योजनाको प्रभावकारी सञ्चालन तथा पार्टीभित्रको आन्तरिक व्यवस्थापनसँग जोडेर हेरिएको छ।

मन्त्रिपरिषद्को पुनर्गठनपछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको प्रतिनिधित्व गर्ने अनुहारहरू परिवर्तन भएका छन् भने नयाँ टोलीले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्