काठमाडौँ । तीन दिने भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्रमन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल आगामी जुन १४ मा चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेताहरूसँग समेत भेटवार्ता गर्नेछन्। नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास, लगानी तथा क्षेत्रीय मुद्दाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार चीन भ्रमणको तयारी पहिल्यैदेखि भइरहेको थियो। बेइजिङ भ्रमणको मिति तय भएपछि मात्रै मन्त्री खनाल छोटो तयारीका साथ भारत भ्रमणमा गएको बताइएको छ। हालै सम्पन्न भारत भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा सीमा व्यवस्थापन, व्यापार, कनेक्टिभिटी, ऊर्जा, पूर्वाधार विकास र रासायनिक मल आपूर्तिलगायतका विषयमा विस्तृत छलफल भएको थियो। विश्लेषकहरूले मन्त्री खनालको चीन भ्रमणलाई नेपालले दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम राख्ने कूटनीतिक प्रयासका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय नेपालको विदेश नीति पश्चिमा मुलुकतर्फ झुकेको भन्ने चिनियाँ चासो बढिरहेका बेला हुन लागेको यो भ्रमणले बेइजिङलाई नेपाल सन्तुलित र स्वतन्त्र कूटनीतिक मार्गमा प्रतिबद्ध रहेको सन्देश दिने अपेक्षा गरिएको छ।
स्रोतका अनुसार चीन भ्रमणअघि मन्त्री खनालले पूर्वपरराष्ट्रमन्त्री, कूटनीतिज्ञ, पूर्वराजदूत तथा चीन मामिलाका विज्ञहरूसँग परामर्श गरी आवश्यक सुझाव संकलन गर्ने तयारी पनि गर्नुभएको छ। यसअघि सरकार गठनपछि चिनियाँ कम्युनिस्ट पार्टीका केही उच्च अधिकारीहरूले काठमाडौं आएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री खनाललगायत नेताहरूसँग भेटवार्ता गरेका थिए। उक्त भेटघाटमा नयाँ सरकारको विदेश नीति तथा नेपाल–चीन सम्बन्धको भावी दिशाबारे समेत छलफल भएको बताइएको थियो। आगामी बेइजिङ भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई छिमेकीबीच सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।







